तिनकुनेको जग्गा लुटिएको मेरो उमेरभन्दा बढी समय भयो, सरकारले केही गरेन : बालेन

सफल खबर संवाददाता

शुक्रबार, १२ पुस २०८१, १४ : ४७
तिनकुनेको जग्गा लुटिएको मेरो उमेरभन्दा बढी समय भयो, सरकारले केही गरेन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन्। शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको जिकिर गरे ।

‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कुन सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुई तिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने उनको भनाइ थियो ।

‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोत साधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ मेयर बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन ।

आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला । मलाई पनि भन्नुहोला । हाम्रो त उमेर भन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको ।’उनले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गर्दै यहाँको छुट्टै पहिचान झल्कनेगरी काम गर्न व्यवसायीलाई आग्रह गरे ।‘कोटेश्वर के का लागि जाने भन्ने विशेषतालाई उजागर गर्नुपर्छ । के चिज यहाँ विशेष पाइन्छ भन्ने महोत्सवले उजागर गरोस् । नेपालमै बनेको सामग्री पनि यहाँ पाइयोस् । त्यो प्रत्साहन यहाँका व्यवसायीले गर्दै जाउन्,’ मेयर शाहले भने ।

महानगरपालिकाका अनुसार तीनकुनेमा ४६ रोपनी जग्गा छ । जसमध्ये २१ रोपनीको मुआब्जा बितरण भइसकेको छ । सरकारले मुआब्जाका लागि १५ करोड रुपैयाँ छुट्याएकोमा प्रतिआना ३ लाखका दरले २१ रोपनी ११ आना २ पैसा १ दशमलब ९ दाम जग्गाका धनीलाई १० करोड ८० लाख रुपैयाँ वितरण गरिसकेको छ ।

तर, बाँकी २५ रोपनी जग्गाका धनीले हालसम्म मुआब्जा लिन मानेका छैनन् । उनीहरूले अहिलेको चलनचल्तीको भाउमा मुआब्जा पाउने पर्ने माग गरेका छन् । अहिलेको चलनचल्तीको भाउमा मुआब्जा दिए राज्यलाई दोब्बर व्ययभार पर्ने सरकारी अधिकारीहरू बताउँछन् ।

तिनकुनेको सडक छेउका स्थानीयले पनि मुआब्जाको दाबी गर्दै आएका छन् । सिनामंगलतर्फ र कोटेश्वर तर्फको सडक क्षेत्रको झण्डै ८ रोपनी जग्गामा स्थानीयको मुआब्जा दाबी छ ।

महानगरपालिकाका अधिकारीका अनुसार जग्गाधनीले सडकको बीचबाट २५ मिटर दायाँबायाँको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग गरेका छन् । तर, सडक क्षेत्राधिकार (राइट अफ वे) भित्रको जग्गा पहिल्यै अधिग्रहण गरिसकेकाले त्यसको मुआब्जा दिन नमिल्ने महानगरपालिकाका अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस