संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा

सफल खबर संवाददाता

आइतबार, ०७ पुस २०८१, १२ : ०६
संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर पालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए । 

उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताउँदै उनले संयन्त्रले सुरुमा काँग्रेस र एमालेबिच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे । 

थापाले एमाले र कांग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । सांसदलाई  समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने उनले बताए ।  

महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए । 

अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताए । नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा कांग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताए ।  

महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने भन्दै सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने दाबी गरे । 

 

प्रतिक्रिया दिनुहोस