अब प्रदेशकै नामबाट नम्बर प्लेट

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ कार्तिक २०७५, ०७ : ४७
अब प्रदेशकै नामबाट नम्बर प्लेट

काठमाडौं । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो ।

अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ ।

प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ । अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नुपर्नेछ ।

यसैगरी, पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ ।

यस्तो सवारी समूह जनाउने अंक आवश्यकतानुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै, सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ । प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानुपर्नेछ ।

उदाहरणका लागि प्रदेश नम्बर ३ को क्रमसंख्या ०१ भएको कुनै सवारी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने पहिलो समूहको (०००१ देखि ९९९९ भित्रको) ११११ दर्ता नम्बरको निजी मोटरसाइकलको नम्बर प्लेट यस्तो हुनेछ ।

यसअघि बाग्मती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल÷स्कुटरको दर्ता रोकिएको थियो । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार साना सवारी (मोटरसाइकल/स्कुटरलगायत दुईपांग्रे) को नम्बर प्लेटमा बढीमा आठ वटासम्मको अंक र अक्षर रहने व्यवस्था थियो । जसमा तल र माथि दुई लाइनमा राख्नुपर्ने व्यवस्था थियो ।
नियमावलीअनुसार माथिल्लो लाइनको सुरुमा दर्ता गर्ने कार्यालयको अञ्चल संकेत अक्षर र त्यसपछि समूह जनाउन अंक लेखिनुपर्ने, त्यस्तो सवारी जनाउने अंक १ देखि ९९ सम्म हुने भनिएको छ । त्यस्तो अंकपछि सवारीको किसिम जनाउने संकेत अक्षर लेख्नुपर्ने कार्यविधिमा उल्लेख थियो ।
तल्लो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्ने र यस्तो दर्ता नम्बर एउटा संकेत अक्षरमा बढीमा ४ अंक (१ देखि ९९९९) सम्म हुनेछ । कुनै एक संकेत अक्षरमा सबैभन्दा ठूलो ९९९९ पुगेपछि क्रमशः अर्को संकेत अक्षर दिई त्यसमा पनि १ देखि ९९९९ सम्म दिँदै जानुपर्ने व्यवस्था रहेको थियो ।

नम्बर प्लेट लेख्ने तरिका
अगाडिको नम्बर प्लेट
प्रदेश ३–०१
००१ प ११११
पछाडिको नम्बर प्लेट
प्रदेश ३–०१
००१ प
११११

प्रतिक्रिया दिनुहोस