राष्ट्र बैंकको तटस्थताले सेयर बजारमा अन्योल

सफल खबर संवाददाता

शनिबार, १५ मंसिर २०८१, १२ : ३९
राष्ट्र बैंकको तटस्थताले सेयर बजारमा अन्योल

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौलता देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ ।

अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साता अघिकै लेभलमा पुगेको छ ।

२०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक अधिकांश समय लो–क्याप मै रहेको देखिन्छ। अहिले बजारले लिएको स्थान ऐतिहासिक विन्दुभन्दा ४५० र केही समय अघि बुलमा लिएको उचाइभन्दा करिब २५० अङ्क मात्रै कम हो । बजारको अहिलेको यो उचाइ कम हो भन्न सक्ने अवस्था छैन । यो अवस्थामा कुनै नीतिगत परिवर्तन वा विशिष्ट परिस्थितिबिना बजार धेरै माथि जान सक्ने अवस्था देखिँदैन ।

त्यसो भन्दैमा बजार धेरै घटिहाल्छ भन्ने पनि होइन । अहिले बजारले जुन उचाइ लिएको छ, यसको आधार बलियो बनिसकेको छ । पछिल्लो चार महिनामा मात्रै बजारले चारपटक यो उचाइलाई भेटेको देखिन्छ । गत अक्टोबर १७ मा बजार यही हाराहारीमा पुगेको थियो । सेप्टेम्बर पहिलो साता पनि बजार यही बिन्दु हाराहारीमा थियो ।

त्यतिबेला ३ हजारबाट बजार तल झरिरहेको अवस्था थियो । त्यसको एक महिनाअघि उकालो क्रममा रहेको बजार यही बिन्दुको हाराहारीबाट गुज्रिएको देखिन्छ । यो अवस्थाले बजारका लगानीकर्ताले अहिलेको उचाइलाई सामान्य मान्न थालिसकेका छन् भन्ने पुष्टि हुन्छ । 

तर, अब सेयर बजारको गति के होला भन्नेमा भने बजारका लगानीकर्ता र विश्लेषकबिच मतैक्य छैन । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल मौद्रिक नीति मौन हुँदैमा सेयर बजार नकारात्मक हुने अवस्था नरहेको बताउँछन् । बजारलाई सकारात्मक बनाउने अरू धेरै कुरा रहेको भन्दै बजार अझै माथि नै जान्छ भन्ने आफूलाई लागेको उनको भनाइ छ ।

‘हामीले राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार १०० मा झार्ने, १५ करोडको क्याप हटाउने लगायत सुझाव दिएका थियौँ, यो कार्यान्वयन नभए पनि नराम्रो विषय केही आएन’ अध्यक्ष ढकाल भन्छन्, ‘सबै कुरा पूरा होला भनेर सोचिएको पनि थिएन, त्यसैले बजार धेरै निराश छैन ।

उनका अनुसार धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको, ब्याजदर एकल दरमा आइपुगेको अवस्थामा शेयर बजार थप गतिशील र चलायमान हुनसक्ने सम्भावना प्रशस्त छ । 

यद्यपि बजारका स्वतन्त्र विश्लेषकहरू भने सेयर बजार धेरै माथि जाने सम्भावना देख्दैनन् । बजारको अहिलेको पोजिसन नै अ‍ौसतभन्दा माथि रहेको र बजारलाई एक्सिलिरेट गर्ने कुनै व्यवस्था नआएकोले बजार धेरै माथि जान सक्ने अवस्था नरहेको उनीहरूको विश्लेषण छ ।