नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, ११ : ०२
नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन सकेन : अध्यक्ष अग्रवाल

काठमाडौँ । उद्योग परिसंघ (सिएनआई) अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसकेको बताएका छन् ।

उद्योग दिवसको अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रमका बोल्दै उनले भने– 'नेपालमा उद्योग दर्ता, सञ्चालन प्रक्रियाका लागि उद्योग सँग सम्बन्धित नीतिहरू जटिल छन् । वन, खानी लगायत उद्योगमा आवश्यक कच्चापदार्थसँग सम्बन्धित नीतिहरू उद्योगमैत्री छैनन् ।

उद्योगमैत्री नीति नहुँदा वैदेशिक लगानीसमेत भित्रिन नसकेको उनको भनाइ छ । 'हालसम्म उद्योग क्षेत्रको योगदान १२।५ प्रतिशत मात्रै  छ । माग दैनिक घटिरहेको छ । विदेशबाट आउने विप्रेषण बढेको छ ।

आन्तरिक उत्पादन घटेको छ,' उनले भने, 'देशको राजनीतिक अस्थिरता र कमजोर औद्योगिक पूर्वाधार छ । पर्याप्त पुँजी तथा दक्ष जनशक्ति को अभाव छ । कच्चा पदार्थको अभाव आयातित वस्तुसँग स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमताको कमी हुँदा उद्योगहरू  सङ्कटमा छन् ।

उद्योगसम्बन्धी समस्या समाधानका लागि सरकारले उद्योगमैत्री नीति निर्माण गरिनुपर्ने उनको भनाइ छ । सरकारले आयात प्रतिस्थापन गरी निर्यातमा प्रतिस्थापन गर्नुपर्ने अग्रवाल बताउँछन् ।

यसैगरी सरकारले पुँजीगत खर्च बढाउनु पर्ने विकट स्थानमा उद्योग निर्माण गरिनु पर्ने उनको भनाइ छ । वन तथा खानी सम्बन्धी नीति नियम उद्योग मैत्री बनाउनुपर्ने अग्रवाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस