अमेरिकाले गर्‍यो गुगलको सर्च इन्जिनमा एकाधिकार तोड्न प्रस्ताव

एजेन्सी

विहीबार, ०६ मंसिर २०८१, १२ : ५५
अमेरिकाले गर्‍यो गुगलको सर्च इन्जिनमा एकाधिकार तोड्न प्रस्ताव

काठमाडौँ । अमेरिकी न्याय विभाग र केही राज्यहरूले बुधबार राति एक संघीय अदालतलाई गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न बाध्य पार्ने गरी निर्णय गर्न आग्रह गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार अगस्टमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश अमित पी मेहताले गुगलले अनलाइन खोजमा एकाधिकार कायम गरेको ठहर गरेका थिए ।न्यायाधीश मेहताले न्याय विभाग र मुद्दा दायर गर्ने राज्यहरूलाई खोजी गुगलको एकाधिकार सच्याउन बुधबारसम्म समाधान पेस गर्न भनेका थिए ।

यो कदमले २ ट्रिलियन डलरको कम्पनीको व्यवसायको आधारभूत स्वरूप नै बदलिन सक्छ भने इन्टरनेटमा हुने प्रतिस्पर्धा नयाँ अवस्थामा पुग्नेछ ।सरकारले न्यायाधीश मेहतासँग क्रोम बेच्नुका साथै गुगललाई अरु के विकल्प दिन सकिन्छ भनेर सोधेको थियो ।

ती विकल्पमा कि त स्मार्टफोनको अपरेटिङ सिस्टम एन्ड्रोइड बेच्ने कि एन्ड्रोइड प्रयोग गर्ने फोनहरूमाथि आफ्नो सेवाहरू अनिवार्य बनाउनबाट गुगललाई रोक्ने रहेका छन् ।यदि गुगलले यी सर्तहरू तोड्यो वा नयाँ बदलाव (सुधार) हरूले प्रतिस्पर्धा सुधार गर्न असफल भएमा सरकारले पछि कम्पनीलाई एन्ड्रोइड बेच्न बाध्य पार्न सक्छ ।

सरकारले न्यायाधीशलाई गुगललाई एप्पल र अन्य कम्पनीहरूसँग स्मार्टफोन र ब्राउजरहरूमा स्वचालित खोज इन्जिन राख्नका लागि गरिएका सशुल्क सम्झौताहरू रोक्न पनि आग्रह गरेको छ ।

योसँगै गुगललाई १० वर्षसम्म कम्पनीको खोज नतिजा डाटामा पहुँच पनि दिनुपर्नेछ जुन प्रतिस्पर्धीहरूलाई गुगलको उत्पादनको गुणस्तरसँग पछ्याउन मद्दत गर्नेछ ।सन् २००० मा न्याय विभागले माइक्रोसफ्टसँग माग गरेकोपछि यो सबैभन्दा महत्त्वपूर्ण प्रस्ताव हो । यदि न्यायाधीश मेहताले न्याय विभागको यी प्रस्तावहरू स्वीकार गरे भने एप्पल, अमेजन र मेटा लगायतका विख्यात टेक कम्पनीहरूको प्रभुत्वलाई चुनौती दिने अन्य प्रतिस्पर्धा विरोधी मुद्दाहरूको व्याख्या गर्ने नजिर उपलब्ध हुनेछ ।

क्रोम र एन्ड्रोइड बेच्न बाध्य पारिनु गुगलका लागि सबैभन्दा खराब परिणामहरू मध्ये एक हुनेछ । सन् २००८ मा सुरु गरिएको र प्रयोग गर्न निःशुल्क रहेको क्रोम, स्ट्याटकाउन्टरका अनुसार विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । यसले विश्वव्यापी ब्राउजर बजारको अनुमानित ६७ प्रतिशत हिस्सा ओगटेको छ ।

स्ट्याटकाउन्टरका अनुसार एन्ड्रोइड विश्वको सबैभन्दा लोकप्रिय मोबाइल सफ्टवेयर हो, जसले बजारको अनुमानित ७१ प्रतिशत हिस्सा ओगटेको छ । दुवै गुगलको विस्तृत इकोसिस्टमको अंश हुन् जसमा विश्वका धेरै मानिस जोडिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस