राष्ट्रियसभाको चुनावपछि मात्रै समानुपातिक परिणाम सार्वजनिक

आइतबार, १६ पुस २०७४, १६ : १७
राष्ट्रियसभाको चुनावपछि मात्रै समानुपातिक परिणाम सार्वजनिक

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।

आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए।

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजापछि महिलाको सहभागिता कति थप्नुपर्ने हो? त्यो प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए।

साक्षात्कारमा बोल्दै यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।

राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढीमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले जानकारी दिए।

यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानूनी व्यवस्था भएको जानकारी गराएका छन्।

यसैबीच, यादवले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरूको आरोपको खण्डन गरेका छन् । नतिजा सार्वजनिक गर्नका लागि कानूनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरूले त्यस्तो आरोप लगाएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस