तेह्रथुम। सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र शुरू भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम शुरू गरिएको हो ।
सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दीपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम शुरू गरिएको बताए । उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छ पटक म्याद थप भइसकेको छ ।
पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ । यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङ सुरुङका राजेन्द्र सुवेदीले बताए । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ ।
उक्त सडक खण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घिनाटार–टाउनचोक सडक कालोपत्र शुरू
पर्वतको लुङ्खु–हुवास सडक धमाधम कालोपत्र हुँदै
मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
बाटो खुलेको २५ वर्षपछि कालोपत्र
एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र
मुग्लिन–पोखरा पश्चिम खण्डमा कालोपत्र गरिँदै