काठमाडौं l सरकारले काठमाडौंभित्र ८ वटा प्राथमिक रुटहरु पहिचान गरेको छ । अध्ययनले औंल्याएको सुझावअनुसार प्राइमरी रुटमा ८० यात्रु बोक्न सक्ने ठूला बस चल्न सक्छन् । यो रुटमा सेमि फ्लोर बस पनि चल्न सक्छन् । अहिले साझाले चलाएकाभन्दा पनि ठूला आकारका बस यो रुटमा चल्न सक्छन् ।
विशेषगरी रिंगरोड र रिंगरोडलाई रत्नपार्कसँग जोड्ने मुख्य विन्दुलाई प्राइमरी रुटमा राखिएको छ । यी रुट ठूला बस चल्न योग्य छन् । यात्रुको चाप र सडकको अवस्था हेरेर नै प्राथमिक रुटमा ठूला सवारी चलाउन सुझाव दिइएको छ । यात्रुको धेरै चाप हुने र सवारी उपलब्धता असहज भएको क्षेत्रलाई समेटेर प्राथमिक रुटहरु तय गरिएको छ । ठूला बसहरु चलाउन प्राइमरी रुटहरु अत्यन्तै योग्य छन् । ठूला बस हालेपछि अहिले जस्तो धेरै साना सवारी यी रुटमा नरहने परिकल्पना गरिएको छ । काठमाडौंमा ठूला बसको युग सुरु भइसकेको अवस्थामा त्यसलाई पनि ब्यवस्थित गर्न वैज्ञानिक रुपमा पहिचान भएका प्राइमरी रुटहरुको कार्यान्वयनमा जान नसके ट्राफिक जामको समस्या अझ भयावह हुने व्यवयायी आफैं पनि बताउँछन् ।
प्राथमिक रुटहरु
उपत्यकामा निर्धारित प्राथमिक रुटको पहलो नम्बरमा घडीको दिशामा चक्रपथ परिक्रमा गर्ने गरी बनाइएको छ । त्यसैगरी घडीको उल्टो दिशामा चक्रपथ परिक्रमा गर्ने गरी अर्को रुट तोक्नुपर्ने सुझाव दिएको छ, जुन रुट नम्बर २ हुने छ । नारायणगोपालचोकबाट महाराजगञ्ज - लाजिम्पाट - लैनचौर - जमल - भृकुटीमण्डप - त्रिपुरेश्वर - थापाथली - कुपण्डोल - पुल्चोक - जावलाखेल - लगनखेलहुँदै सातदोबाटोसम्मको रुटलाई तेस्रोमा राखिएको छ ।
ठूला बस चलाउन नारायणगोपाल चोकबाटै महाराजगञ्ज - लाजिम्पाट - लैनचौर - जमल - भृकुटीमण्डप - सिंहदरबार - माइतिघर - नयाँ बानेश्वर - कोटेश्वर - ठिमी - सल्लाघारीहुँदै सूर्यविनायक पुग्ने अर्को रुट प्रस्ताव गरिएको छ । यो रुटमा अहिले साझाले पनि सञ्चालन अनुमति मागेको छ । जोरपाटीबाट चाबहिल - गौशाला - कमलपोखरी - हात्तिसार - जमल - भृकटीमण्डप - शहीदगेट - त्रिपुरेश्वर - कालिमाटी - कलंकी - नैकापसम्म पनि ठूला बस चलाउनुपर्ने प्रतिवेदनले औंल्याएको छ ।
जोरपाटीबाटै बौद्ध - चाबहिल - गौशाला - कमलपोखरी - हात्तिसार - जमल - भृकुटीमण्डप - सिंहदरबार - माइतिघर - थापाथली - कुपण्डोल - पुल्चोक - जावलाखेलहुँदै एकान्तकुनासम्म अर्को रुटको प्रस्ताव गरिएको छ । कोटेश्वरबाट सिनामंगल - एयरपोर्ट - गौशाला - हात्तिसार - जमल - रत्नपार्क - लैनचौर - सोह्रखुट्टे - बालाजुहुँदै नयाँबसपार्कसम्म अर्को प्राथमिक रुटहरु पहिचान भएको छ । कोटेश्वरबाट तीनकुने - नयाँबानेश्वर - माइतिघर - थापाथली - त्रिपुरेश्वर - कालीमाटी - कलंकीसम्म पनि ठूला बसहरु चलाउन सकिने निषकर्ष निकालिएको छ । यी प्राथमिक रुटमा दोहोरो रुपमा ठूला बस आउजाउ गर्नेछन् ।
अध्ययनमार्फत १६ वटा सेकेन्डरी रुटहरु प्रस्ताव गरिएका छन् । सेकेण्डरी रुटमा ६० जना यात्रु बोक्ने क्षमता भएकाका बसहरु चल्न सक्छन् । ४२ टर्सरी रुटमाहरुमा साना सवारीहरु चलाइने छ । सरकारले वैज्ञानिक रुटहरुमा सरकारी पहलमै साना सवारी हटाएर ठूला सवारी राख्ने प्रक्रिया अघि बढेको बताउँछ । तर, प्रभावकारी रुपमा काम भएको छैन । ठूला सवारी चलाउने योजना अन्तरगत पहिलो चरणमा बसपार्कबाट गोंगबु, लैनचौर, मैतिदेवी हुँदै सिनामंगल रुटमा १७ वटा ठूला बस भल्न सुरु भएका छन् । विभिन्न खण्डित रुटमा रहेका सवारीलाई हटाएर एउटै रुट कायम गर्दै नयाँ बस हालिएको यो पहिलो पटक हो । यो रुटको खण्डित सडकमा चल्ने ३५ वटा टेम्पो र २६ वटा माइक्रो हटेका थिए ।
ब्यवसायीले ल्याउने नयाँ ठूला बसलाई वैज्ञानिक रुपमा पहिचान भएका रुटमा इजाजत दिन सुरु गरिएको विभागका प्रवक्ता गोकर्ण उपाध्याय बताउँछन् । उनी क्रमैसँग वैज्ञानिक रुट कार्यान्वयनमा लैजान सरकार तयार रहेको बताउँछन् । काठमाडौंमा सडक पूर्वाधार विस्तार नहुने तर निजी सवारी चढ्ने ट्रेण्ड तीब्र गतिमा बढ्दैछ । यसले केही समयपछि उपत्यकाको सवारी ब्यवस्थापन अहिलेको भन्दा निकै नाजुक स्थितिमा पुग्ने अवस्था छ । वैज्ञानिक रुपमा पहिचान गरिएका रुटले मास ट्रान्सपोर्टेशनलाई प्रोत्साहित गर्ने विश्वास यातायात विभागको छ । उपत्यकामा हाल ३ सय भन्दा बढी संघरसंस्था र समिति मातहतमा झण्डै ११ हजार सार्वजनिक सवारी सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०७५, १३ : ४९
लेखकबाट थप