काठमाडौँ । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल तथा फेसबुक पेजमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।
नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सह प्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।
यस्तै पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।
काउन्सिलले जारी गरेको पत्र:
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ कार्तिक २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दि हिमालयन टाइम्स’माथि छानबिन गर्न काउन्सिलले बनायो समिति