सुनसरी । सुनसरीको बराहक्षेत्र धाममा भोलिदेखि एकादशी मेला सुरु हुने भएको छ । हरिबोधिनी एकादशीका अवसरमा चल्ने मेला पूर्णिमासम्म रहनेछ ।
कार्तिक शुक्ल त्रयोदशी अर्थात् बुधबार निशान यात्राले नगर परिक्रमा गरी वराहक्षेत्र मन्दिर प्रस्थान गर्ने छ । चतरा मठमा औलिया बाबाको गद्दी स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट वराहक्षेत्र लाने गरिएको छ ।
औलिया महामुनी पीठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा वराहक्षेत्रमा एकादशी मेला सुरु हुने गरेको छ ।
वराहक्षेत्र कात्तिके मेलाका नाममा बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
औलिया मठ चतरा गद्दी तथा वराहक्षेत्रका महन्त विनायक पुरीका अनुसार प्राचीन कालदेखि चल्दै आएको पर्वले बर्सेनि निरन्तरता पाइरहेको छ ।
उनका अनुसार औलिया बाबा वराह भगवानका उपासक, सेवक र रक्षकसमेत रहेकाले औलिया बाबाको प्रतीकस्वरूप निशान झण्डा लाने गरिएको छ ।
सप्तकन्या सहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि मठबाट चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ ।
निशान झण्डासहितको पदयात्रामा जुना अखडाका जोगी–सन्यासी, चतरा गद्दीका साधु–सन्त, वराहक्षेत्रकाजनप्रतिनिधि स्थानीयवासीसहितको पदयात्रा वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्रा वराहक्षेत्रका लागि निस्कने गरेको छ । पूर्णिमाका दिनसम्म वराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ ।
शास्त्रीय मान्यताअनुसार विष्णु भगवानको अवतारका रुपमा वराह भगवानको पूजा अर्चना, भाकल गर्ने गरिएको छ ।
हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुले वराह (बँदेल) को रूप लिएर पृथ्वीलाई रसातल (समुद्र) मा डुबाउने ‘हिरण्याक्ष’ नाम गरेको राक्षसको वध गरेका थिए । वराह अवताररूपी विष्णु भगवानले जलमा डुबेको पृथ्वीलाई पूर्ववत् उद्धार गरेको धर्मशास्त्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै
पापाङ्कुशा एकादशी मनाइदै
आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ?