काभ्रेबाट तीन बर्षमा डेढ सय महिला–बालबालिका हराए

विहीबार, ०१ कार्तिक २०७५, ११ : ००
काभ्रेबाट तीन बर्षमा डेढ सय महिला–बालबालिका हराए

Photo : Google

काभ्रेपलाञ्चोक : जिल्लाबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३ सय ९६ महिला तथा बालबालिकामध्ये २ सय ५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म ३ सय ९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १ सय ४५ जना फेला परेका छैनन् ।

आर्थिक बर्ष २०७२/०७३ देखि यही असोज अन्तिम सातासम्म २ सय ७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७२/०७३ मा १११ , २०७३/०७४ मा १०९,आर्थिक बर्ष २०७४/०७५ मा १६१ तथा चालू आर्थिक बर्षको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको छ ।

हराएका ३ सय ९६ महिला तथा बालबालिकामध्ये महिला १ सय ५८, बालक २६ र बालिका ५७ जना फेला परेका हुन् ।प्रहरी नायव उपरिक्षक गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताउनुभयो ।

उहाँका अनुसार हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन् भने अन्य आफन्तकै पहलमा भेटिएका छन् । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रहरीले यस्तो युनिट बनाओस् जसले हराएकाको मात्रै खोजी गरोस् ।” (रासस)

 

प्रतिक्रिया दिनुहोस