उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ३९
उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं।  सामाजिक अभियन्ता उर्मिला चौधरी 'ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड'द्वारा सम्मानित भएकी छन् । चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको हो ।

 

चौधरी सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले लेखेको छ, 'प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उनले गरेको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उनको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।

पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्ष 'कमलरी-जीवन' बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी थिइन् ।

चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस