करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ : बिन्दा पाण्डे

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०८१, १३ : ५६
करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ : बिन्दा पाण्डे

काठमाडौँ। नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पार्टीलाई करोड दिने अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । व्यवसायी मीनबहादुर गुरुङसँग भवन बनाउन जग्गा दान लिएको विरोध गर्दा पार्टीले स्पष्टीकरण सोधेपछि उनले परिवर्तनका वाहक श्रमजीवी जनता भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘तुल्सीलाल अमात्यले आफ्नो पुस्तक बुद्ध, बुद्धत्व र बुद्ध दर्शनमा लेनिनको भनाइलाई उद्धृत गर्दै लेख्नुभएको छ, शोषक वर्गले दिएका लाख रुपैयाँले हामीलाई कमजोर बनाउँछ । तर, मेहनकस जनताले दिएको एकरएक पैसाले हाम्रो शक्ति बढाउँदछ । अमात्य, २०७८ नेकपा माले पार्टी मेहनतकस जनताको त्यही शक्तिमा बनेको थियो । ती श्रमजीवी कहाँ छन् ? पार्टीको गणनामा पर्न छाडेका छन् ।’

उनले अहिले पार्टीलाई आवश्यकता पर्दा लाखौँ होइन, करोडौँ बोकेर आउनेहरू भेटिन थालेको टिप्पणी गरेकी छन् ।उनले थपेकी छन्, ‘तर, बुझ्नुपर्छ जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ, उसले अरब फिर्ता गर्ने सोच राखेकै हुन्छ । तर ती पैसामा जम्मा गरेर रुपैयाँमा सहयोग गर्ने श्रमिक वर्गले त्यस बापत सुशासन अपेक्षा गरेका थिए । नागरिकले सम्मानपूर्वक श्रम गरी खान पाउने, हरेक सन्तानले असल शिक्षा र बिरामी हुँदा सहज उपचारको अपेक्षा गरेका थिए । जुन सामूहिक र सामाजिक हुन्छ । त्यो हामीले कति पूरा गर्न सक्यौँ ? कति प्रयत्न गर्‍यौँ ? आजको अहम प्रश्न हो ।’

हिजो बसेको एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषाकिरण तिम्सेनालाई पार्टीको निर्णयविपरित अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

उनले व्ययदायीसँग जग्गा दान लिँदा साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस