ज्यानको बाजी थापेर पर्यटकलाई गैंँडाबाट बचाउने शीरलाल....

सोमबार, २९ असोज २०७५, १५ : ४५
ज्यानको बाजी थापेर पर्यटकलाई गैंँडाबाट बचाउने शीरलाल....

प्रतिकात्मक फोटो

–नारायण ढुङ्गाना 
काठमाडौँ । चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल हुनुभएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते हुनुभएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उहाँको दशकौंदेखिको दैनिकी थियो । सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शक समेत हुनुहुन्छ । 

गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुप¥यो । एक्कासि भेटिएको बच्चासहितको गैँंडाले पर्यटकलाई आक्रमण गर्न आयो । परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गर्नुभयो । तर पर्यटकलाई जोगाउँदा आफू भने घाइते हुनुभएको छ । 

गैंडासँग कसरी बच्ने भन्ने कला उहाँसँग थियो । यसपटक धेरै पर्यटक भएकाले उनीहरुलाई बचाउनकै लागि गैंँडासँग सङ्घर्ष गर्नुप¥यो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत परियाले भन्नुभयो, “बच्चा सहितको गैंँडाबाट बच्न मुस्किल पर्छ, तर यसपाली पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो ।” 

बच्चा देखेपछि आक्रामक हुँदै गैँडा आयो । अब पर्यटकलाई मार्ने भयो भनेर उहाँले विभिन्न उपायसहित भूइँमा लठ्ठी बजार्नुभयो । तर गैँंडा रोकिएन । रुखमा छेलिएर गैंँडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंँडाले आक्रमण गरेको परियार सम्झनुहुन्छ । गैँंडाले उहाँको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ । 

छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासि घोप्टो परेपछि अरु दुई पथ प्रदर्शकको सहयोगमा गैंँडाबाट बच्न सफल भएको उहाँको भनाइ छ । बच्चा सहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उहाँको छ । तिघ्रा पछाडि सिङ्ले हानेको छ । चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउँमा सङ्क्रमण भएपछि उहाँलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । सङ्क्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ । गैँंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस