काठमाडौं । आफूलाई काँग्रेसको नेता बताउने मनाङका व्यापारी टेकबहादुर गुरुङ, डोल्पाका नेकपाका सांसद रामबहादुर बुढा, आफूलाई एक दैनिक पत्रिकाको प्रकाशक बताउने शेरचन थरका पूर्व सांसद तथा पूर्व एमाले र काँग्रेसका केही नेता समेत मानव तस्करीमा संलग्न रहेको आरोप छ । श्रममन्त्री गोकर्ण विष्टमाथि समेत पछिल्लो समयमा मानव तस्करको स्वार्थ अनुसार काम गर्न थालेको आरोप छ । मन्त्री विष्टले कामदार ठगी प्रकरण रोक्न कुनै पनि पहल नगरेको भन्दै पीडितले चर्को गुनासो गर्दै आएका छन् ।
पछिल्लो पटक सरकारले मलेसियामा कामदार पठाउन रोक लगायो । प्रवेशाज्ञा, हावई टिकट र स्वास्थ्य परिक्षणको नाममा ठगी भइरहेको पाइएपछि सरकारले मलेसियामा कामदार पठाउन रोक लगायो । गत जेठ ३ गतेदेखि कामदार पठाउन रोक लगाएको सरकारले कुटनीतिक च्यानलमार्फत मलेसिया सरकारसँग वार्ता गरेर समस्या समाधानका लागि पहल गर्यो । सरकारको पहलले सार्थकता पाउने चरणमा पुगेको छ । केही समयभित्रै नेपाल र मलेसियाबीच श्रम सम्झौता हुन लागेको छ ।
नेपालीलाई जहाँ पनि ठगिने नै पिरलो । देशभित्र पनि सोझा नेपाली ठगिएकै छन् । विदेशमा पनि नेपालीले नेपालीलाई नै ठगेका छन् । ठग्ने र ठगिनेको चक्र घट्दो क्रममा होइन बढ्दो क्रममा रहेको छ । त्यसका राजनीतिक नेतृत्वको समेत प्रमुख हात रहेको छ । मलेसियामा नेपाली कामदारमाथि ठगी गर्ने गिरोह संगठित रुपमा नै परिचालित भएको नेपाली दूतावास मलेसियाले बताएको छ । नेपाली ठग्ने नेपालीलाई नै कारबाही गर्न भने दूतावास पूर्ण रुपमा असफल जस्तै भएको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको छ । पछिल्लो २ महिनामा मात्रै करिब १०० भन्दा बढी कामदार ठगिएका छन् । त्यसरी ठगिनेमा अवैध रुपमा मलेसिया बस्दै आएका कामदार बढी रहेका छन् । ठगहरुले मोटो रकम उठाउने र फरार हुने गरेका छन् । जानकारी पाएर पनि नेपाली दूतावासले कुनै कारबाही गर्न सकेको छैन । दूतावासले मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने अनुमति कसैलाई पनि नदिएको प्रष्ट पारेको छ ।
नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेसिया बस्ने फुपु तेम्बा शेर्पाले अवैधानिक रुपमा बसोवास गर्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता पठाइदिने भन्दै ठगी गर्दै आएको विषयमा नेपाली दूतावास र मलेसियाको गृह मन्त्रालयमा समेत उजुरी परेको छ, तर कारबाही हुन सकेको छैन । दूतावासले निज शेर्पाविरुद्ध नेपाल तथा मलेसियाका सम्बन्धित निकायमा आवश्यक अनुसन्धान र कारबाहीका लागि पत्राचारसमेत भएको दाबी गरेको छ । अनधिकृत लेनदेनका कारण ठगीलगायत अन्य अपराधमा परी उजुरी गर्र्नुपर्ने भएमा मलेसियाको प्रहरी र अदालत तथा नेपाल प्रहरी र अदालतमा पीडित आफैँले उजुरी गर्नसक्ने दूतावासले जनाएको छ ।
दूतावासले प्रवेशाज्ञाको म्याद सकिएर वा अन्य कारणले अवैधानिक रुपमा बसोवास गरिरहेका नेपालीलाई वैधानिक बाटोबाट तत्काल नेपाल फर्कनसमेत आग्रह गरेको छ । वैधानिक रुपमा नेपाल फर्कन मलेसिया सरकारले बेलाबेलामा घोषणा गर्ने आममाफीको कार्यक्रमबाट फाइदा लिन सकिने दोहो¥याउँदै दूतावासले तत्कालका लागि आममाफीको व्यवस्था नभएको सन्दर्भमा मलेसियाको अध्यागमन कार्यालयमा तोकिएको दण्ड जरिवाना तिरी वैधानिक रुपमा नेपाल फर्कन सक्ने जनाएको छ । दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०७५, १४ : १५
लेखकबाट थप