धौलागिरीमा ज्यान गुमाएका ५ रुसी आरोहीको शव काठमाडौं ल्याइयो

रासस

बुधबार, ३० असोज २०८१, १६ : ०९
धौलागिरीमा ज्यान गुमाएका ५ रुसी आरोहीको शव काठमाडौं ल्याइयो

म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव संकलन काठमाडौं लगिएको छ । ७१०० मिटर उचाइमा उनीहरू मृत फेला परेका थिए । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरी आरोहणका लागि गएका उनीहरू ७६०० मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो। उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् ।

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरू धौलागिरी हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोही बीचमै आरोहण रद्ध गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका-४ मा पर्छ । पर्यटन विभागका अनुसार चालू शरदयाममा रसियाका १४ जनाले मात्र धौलागिरी आरोहणको अनुमति लिएका थिए ।

प्रतिक्रिया दिनुहोस