आजबाट कान्ति लोकपथ सञ्चालनमा

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १० : ५३
आजबाट कान्ति लोकपथ सञ्चालनमा

हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् ।

१२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो ।

द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी दिए । बागमती गाउँपालिकाका स्थानीय प्रकाश लामाकाअनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको छ ।

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण मार्ग हो । हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आएका थिए ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यैदेखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस