कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य : मन्त्री खनाल

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०७५, १८ : ००
कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य : मन्त्री खनाल

चितवन । कृषि तथा पशु पन्क्षी बिकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको बिकास मन्त्रालयको प्राथमिकतामा रहेको र यसको आधुनिकीकरणमार्फत कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य रहेको बताउनु भएको छ । 
भरतपुर ६ केसरबागमा शनिबार आयोजित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि.को ३५औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेपाली किसानहरूले परम्परागत कृषि प्रणालीलाइ छोडी ब्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न आग्रह गर्दै उहाँले त्यसका लागि सरकारले आवश्यक ब्यवस्था गर्ने बताउनु भयो । चितवनबाट केही हदसम्म ब्यावसायिक कृषि उत्पादनको थालनी भएकोमा जोड दिँदै उहाँले अब ब्यावसायिकतासंगै गुणस्तरमा समेत लाग्न आग्रह गर्नुभयो । 
फलफूल, तरकारी, खाद्यान्न, मासु लगायतमा आत्मनिर्भर हुनै पर्नेमा जोड दिँदै उहाँले अब यसरी देश अगाडि बढ्न नसक्ने बताउनु भयो । मन्त्री खनालले सहकारी, सरकार र निजी क्षेत्रको समन्वय र लगानीमा बृहद उत्पादन अभियान संचालन गर्नुपर्ने बताउनु भयो । प्रविधिमा आधारित कृषि कर्मले मात्र राष्ट्रले लिएको लक्ष्य हासिल गर्न सकिने मन्त्री खनालको धारणा थियो । अब युवा शक्तिलाई बिदेश होइन, स्वदेशमा कृषि कर्ममा लगाउने सरकाले नीति बनाइरहेको उहाँले बताउनु भयो ।


कार्यक्रमकी बिशिष्ट अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले कृषि क्षेत्रको ब्यावसायिक बिकास मार्फत समृद्धि हासिल गर्न सकिने बताउँदै यो दिशामा अगाडि बढ्न किसानहरूलाई आग्रह गर्नुभयो । परम्परागत कृषि प्रणाली नेपाली किसानहरूको प्रमुख समस्याको रूपमा रहेको बताउदै प्रमुख दाहालले यसलाई तोड्न सक्दा मात्र यसबाट आशातित आम्दानी लिन सकिने बताउनु भयो । अबको आवश्यकता गुणस्तर बृद्धि र उत्पादन बृद्धिलाई बिशेष जोड दिन आवश्यक रहेको उहाँले बताउनु भयो । 
भरतपुर महानगरपालिका तरकारी, खाद्यान्न, मासु र दूध उत्पादनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना भएको क्षेत्र भएको बताउँदै उहाँले भरतपुर महानगरपालिकाले सोही बमोजिम नीति तथा कार्यक्रममा समेटी अगाडि बढिरहेकोमा जोड दिनुभयो । प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्रका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर २५ पैसा नगद अनुदानको ब्यवस्था गरिएकोमा जोड दिँदै आगामी बर्षर्षहरूबाट यसलाई बढाउदै लैजाने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले ३५ औँ बार्षिक साधारण सभाको शुभकामना दिँदै किसानहरूलाई गुणस्तरीय उत्पादनमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा   राष्ट्रिय दुग्ध बिकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त, केन्द्रीय दुग्ध उत्पादक संघका अध्यक्ष नारायणप्रसाद देबकोटा, वडा नम्बर ६ का अध्यक्ष हरिबिलास कोइराला, दुग्ध उत्पादक ब्यावसायिक किसान महासंघका अध्यक्ष आनन्द न्यूरे, अगुवा किसानको तर्फबाट पूर्णप्रसाद प्रसाइ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
२०४२ सालमा स्थापना भएको यस सहकारी संस्थाले दैनिक करिब ४ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ । सहकारीमार्फत नमुना गाई फार्म, दाना उत्पादनका साथै दुग्ध प्रशोधन र बजारीकरण समेत गरिरहेको छ । संस्थाको ३५औँ बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट दुग्ध उत्पादक किसान, घॉस उत्पादक किसान र गुणस्तरीय दूध उत्पादन गर्ने किसानहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भागिरथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस