काठमाडौँ । दशैंमा करिब एक लाख खसी र बोका काठमाडौँ उपत्यकामा भित्रिने अनुमान गरिएको छ, तर सरकारी स्वामित्वको नेपाल खाद्य संस्थान भने खसीबोका खरिद गर्नुको साटो आफूभित्रै हराएर मरिच चाहुरिएजस्तै चाहुरिएको छ ।
संस्थाको निमित्त प्रमुख रहेका काँग्रेसका असली कारिन्दाका रुपमा चिनिएका मणिराज खनाल नै संस्थान डुबाउन भित्रभित्रै लागेका छन् । संस्थानको तालुकदार निकायको रुपमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रमुख आपूर्तिमन्त्री मातृका यादव मौन बसेका छन् । निजी क्षेत्रका व्यापारीको ज्यादती रोक्नका लागि स्थापना गरिएको संस्थानलाई प्रभावकारी, व्यवसायिक एवम् नागरिकमैत्री बनाउन छाडेर मन्त्री यादव भने भ्रष्टाचारमा संलग्न खनाललाई नै बोकेर हिँडेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको तयारीमा राखेका खनाल र उनका केही मतियारलाई जोगाउन मन्त्री यादव आफै लागेको भन्दै उनको समेत आलोचना सुरु भएको छ । गत वर्षको दशैंमा करिब ८० हजार खसी बोका भित्रिएका थिए । अनौपचारिक रुपमा ल्याइएका खुसी बोकाको तथ्यांक हेर्दा गत वर्ष पनि सोही संख्यामा नै खसी बोका आयात भएका थिए । चालु आवको दुई महिनामा भारत र तिब्बतबाट मात्रै रु ७७ करोड १५ लाख ५० हजार बराबरको बोका, खसी र च्याङ्ग्रा भित्रिएका छन् । भन्सार विभागका अनुसार सो अवधिमा एक लाख १८५ खसी बोका भित्रिएका छन् । त्यसबाट रु ३ करोड ९० लाख राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ६० करोड २१ लाख मूल्यका ८३ हजार ८०० खसी बोका आएका थिए । त्यसबाट रु ३ करोड एक लाख राजस्व संकलन भएको थियो ।
काठमाडौँको टुकुचा, बालाजु, कोटेश्वर, महाराजगन्जलगायतका स्थानमा खसी बोका बिक्री गरिन्छ । नेपालमा भित्रिनेमध्ये ८५ प्रतिशतभन्दा बढी खसी र बोका भारतको उत्तर प्रदेशबाट आयात भएका हुन् । बाँकी रहेको १५ प्रतिशत खसीबोका भने उत्तरी छिमेकी चीनको स्वशासित तिब्बतबाट आयात हुने गरेको छ । विगतका वर्षहरुमा नेपाल खाद्य संस्थाले एक महिना पहिल्यैदेखि खसीबोकाको खरिदका लागि प्रक्रिया अगाडि बढाउने गरेको थियो । विगतका बर्षहरुमा जस्तो खाद्य संस्थान सक्रिय देखिएको छैन । संस्थानले करिब ५ हजार खसीबोका ल्याउने तयारी गरेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्थानको काम कारबाहीमाथि निरन्तर अनुगमन गरिरहेको र विगतमा ल्याइएका खसी बोकाको कुनै पनि हिसाब समेत संस्थानसँग नरहेको बताइन्छ ।
मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ । १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा. शिव भुसालले जानकारी दिएका छन् । दशँैका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ ।
नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । पाँच सय ५० च्याङ्ग्रा मुस्ताङबाट पठाइसकिएको छ । थप ४५० च्याङग्रा खरिद गरेर पठाउने तयारी भइरहेको छ । मुस्ताङमा एउटा च्याङग्रा रु १७ हजारदेखि रु २२ हजार तथा भेडा रु १४ हजारदेखि रु १७ हजारका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद गरेको संस्थानले काठमाडाँैमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ६५० का दरले बिक्री गर्ने जनाएको छ ।
संस्थानले खुसी बोका, दाल चामलको खरिद गरेर नागरिकलाई सहज रुपमा उपलब्ध गराउनुको साटो निदाएर बसेको छ । नागरिकलाई सेवा सुविधा दिने निकायको रुपमा रहेको संस्थान डुबाउन लागेका र सधै चलेखल मात्रै गर्ने खनाल, उनको मतियारलाई मन्त्री यादवले नै संरक्षण गरेका कारण समस्या बल्झिदै गएको छ । त्यसो त विगतमा संस्थानले खरिद गरेर ल्याएका खसी बोका समेत मरेको भन्दै सित्तैमा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, प्रहरीका हाकिम र सेनाका हाकिमको घर घरमा पु¥याउने गरिएको थियो ।
अख्तियारले पछिल्लो समयमा सुक्ष्म रुपमा सो विषयमा समेत छानबनि गरीरहेको छ । संस्थानलाई दुहुनो गाई मात्रै बनाउन उद्यत रहेकालाई कारवाही हुनुको साटो उनीहरुलाई नै मन्त्रीले संरषण गरेपछि केही पनि बाँकी रहेको छैन । त्यसो त मन्त्री यादवले चिनी व्यापारीसँग मोटो रकम लिएर बजारमा अराजकता मच्चाएका छन् । चिनीको मूल्य घटाउनुको साटो उनले व्यापारीकै स्वार्थमा निर्णय गरिदिएका कारण बजारमा चिनीको मूल्य असाध्यै ठूलो मात्रामा बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०७५, १५ : ४६
लेखकबाट थप