गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

सफल खबर संवाददाता

विहीबार, १७ असोज २०८१, ११ : २९
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

काठमाडौं। गोरखा दरबारको दशैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दशैंघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए ।

'गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ,' उनले भने, 'उपल्लो कोट, तल्लो कोटहरूमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।'

यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा शुरू भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।

बडादशैंमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस