बाढी पहिरोले ६ अर्बको अन्नबालीमा नोक्सानी : कृषिमन्त्री

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १३ : १२
बाढी पहिरोले ६ अर्बको अन्नबालीमा नोक्सानी : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पछिल्लो बाडी पहिरोको कारण करिब ६ अर्बको अन्नबालीमा नोक्सानी पुगेको बताएका छन् । कृषि समितिको आज बसेको बैठकमा उनले बाढीले कृषकलाई ठुलो क्षति पुर्‍याएको बताए । 'नोक्सानी भएका किसानहरू पीडाले रोइरहनुभएको छ ।  दसैँ कसरी मनाउने, हामीले के प्राप्त गर्छौँ भन्दै सरकारलाई प्रश्न गरिरहनुभएको छ' उनले भने । 

पीडित किसानलाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । यसमा सहयोग गर्न दातृसंस्थासँग अनुरोध गरिएको उनले जानकारी दिए ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार ५८ हजार ४७६ हेक्टर धान वाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट सङ्कलन गरिएको छ ।

यस्तै, १३ सय हेक्टर अलैच नष्ट भई  ७० करोड रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयले जनाएको छ । सो क्षति खोटाङ जिल्लाको हो । पर्साको ८५ हेक्टर क्षेत्रफलको उखु क्षति भएको छ । सो क्षेत्रमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीको १ अर्ब १३ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशु गोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छी मृत्यु भएको छ । यो क्षति पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लाको रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहट जिल्लाको २२ हेक्टर फलफूल बगैँचामा क्षति भएको छ । यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालिमा नष्ट भएको मन्त्रालयको तथ्याङ्क छ ।

बाढी पहिरोका कारणले २ वटा कोल्डस्टोरमा क्षति पुगेको छ । कृषि मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको  क्षति भएको तथ्याङ्क छ । सो संरचना लालवन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुरको रहेको उल्लेख छ ।

कृषि मन्त्रालयले अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको जनएको छ ।

 

प्रतिक्रिया दिनुहोस