डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, ११ : ०९
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका प्रमुख डा.यदुचन्द्र घिमिरेका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा डेंगु, झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य सङ्क्रमण रोगहरूको जोखिम हुने देखिएको छ ।

‘बाढी प्रभावित क्षेत्रमा खाने बस्ने ठाउँ छैन, त्यस्तो अवस्थामा रोगको झनै जोखिम हुन्छ नै’ उनी भन्छन्, ‘यस्तो अवस्थामा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने उनी सुझाउँछन् । खानेकुरा खानुअघि र पकाउनुअघि राम्रोसँग हात धुन र व्यक्तिले जथाभाबी दिसा पिसाब गर्न नगर्न मन्त्रालयको आग्रह छ ।

विशेषगरी बालबालिका, दिर्घरोगी, गर्भवती महिला र रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई पानीजन्य रोगको जोखिम बढी हुने भएकाले व्यक्तिगत सरसफाइ ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस