बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २१८ पुग्यो, २७ अझै बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १२ : ५६
बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २१८ पुग्यो, २७ अझै बेपत्ता

काठमाडौं। बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ । विपद्‌मा परेर २७ जना अझै हराइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा उनले  विपद्मा भएको क्षतिबारे जानकारी दिएका हुन् ।

विपद्‌मा परी १४३ जना घाइते भएको उनले बताए । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । 

घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको उनले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । 

५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताए । उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ र सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति खटिएको उनको भनाइ छ ।