सुकिला नोटको वितरण आजदेखि

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, ०८ : ०५
सुकिला नोटको वितरण आजदेखि

काठमाडौँ । दसैँका लागि 'सुकिला नोट'को वितरण आजदेखि सुरु हुँदै छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ । 

बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । 'सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,' प्रवक्ता पौडेलले भने, 'बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।' 

कस्तो हुन्छ सुकिलो नोट?
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो । 

आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् । 

नयाँ नोट 'सिलप्याक'

बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् । 

मुद्रा व्यवस्थापन विभागका उच्च तहका कर्मचारीलाई गभर्नर अधिकारीले 'एक बन्डल नयाँ नोट पनि बाहिर नजाओस्' भन्ने निर्देशन दिएका छन् । 'बजारको आलोचना खेपेर नयाँ नोट नपठाउने निर्णय गरेको छु, भित्रभित्रै दुरुपयोग नहोस् भन्ने गभर्नरज्यूको निर्देशन छ,' मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीले भने, 'अहिले सिलप्याक गरेर राख्नुस्, तिहारपछि भेरिफाइ गर्नुपर्छ भन्ने निर्देशन छ ।' 

दुई अर्ब बचत हुने दाबी

राष्ट्र बैंकले २०७९ सालमा झन्डै २२ अर्ब रुपैयाँको नयाँ नोट सटही गरेको थियो । अघिल्लो वर्ष भने यसका लागि झन्डै १३ अर्ब रुपैयाँ छुट्टाएको थियो । तुलनात्मक रुपमा कम रकम छुट्टाउँदा अघिल्लो वर्ष बजारमा नयाँ नोटको अभावको अवस्था समेत देखिएको थियो । 

यसरी बजारमा माग हुनेजति सटही गरिदिँदा २०/२२ अर्बको नयाँ नोट बजारमा जाने भन्दै यसको छपाइ लागत डेढदेखि दुई अर्ब लागत पर्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । नयाँ नोटको वितरण रोक्दा त्यो पैसा बचत हुने उनीहरूको एकसरो बुझाइ छ । यद्यपि सुकिला नोट भनेर वितरण गरिएको नोट पनि थप झुत्रो हुनसक्ने अवस्थामा नयाँ नोट साट्दाको 'खुद बचत' कति हो भन्नेबारे यकिन छैन ।

प्रतिक्रिया दिनुहोस