स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, ११ : ०४
स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट

काठमाडौँ । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ ।

मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा इन्डोनेसिया पुगेका छन् । इन्डोनेसिया भएको भेटमा उनीहरूबिच नेपाल र मालदिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

भेटमा मन्त्री पौडेलले नेपालका चिकित्सकहरूले मालदिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै मालदिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताए । मालदिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले मालदिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई पोस्ट ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरे । 

जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरूको बैठकमा मन्त्री पौडेलले बिहीबार सम्बोधन गर्ने तालिका छ । मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि उनी मंगलबार राती त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस