चितवनका विपन्न सय जनालाई चिनियाँ नागरिकको सहयोग

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०७५, १५ : ५४
चितवनका विपन्न सय जनालाई चिनियाँ नागरिकको सहयोग

चितवन । चिनियाँ नागरिक चाङ होङ यूले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५, सोसीबजारका एक सय घरधुरीका विपन्नलाई दशैँको अवसर पारेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्नु भएको छ । बिहीबार सोसीनगरमा आयोजित एक कार्यक्रममा चिनियाँ महिला यू र भरतपुर महानगर प्रमुख रेनु दाहालले सहयोग हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि महानगर प्रमुख रेनु दाहालले अति विपन्न परिवारलाई दशैँको बेला राहतस्वरूप चामल, नुन, तेल, मसला, साबुन, कम्बल र नगद सहयोग पु¥याउनु भएकोमा चिनियॉ नागरिक चाङ होङ यूलाई धन्यवाद ब्यक्त गर्नुभयो । कुनै पनि सहयोग सानो र ठूलो नहुने बताउँदै उहाँले नेपालीहरूको महान पर्व दशैँलाई लक्षित गरेर १ सय घर परिवारलाई पु¥याउनु भएको सहयोगले चीन र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

महानगर प्रमुख दाहालले वितरित राहतलाई मितव्ययी ढंगले उपयोग गरी चाडलाई उल्लासमय बनाउनआग्रह गर्नुभयो । उहाँले भरतपुर महानगरपालिका विकास निर्माण, सुशासन र सामाजिक विकासको क्षेत्रमा तिब्र गतिमा अगाडि बढिरहेकोमा जोड दिँदै यसमा सबैको साथ, सहयोग र खबरदारी जारी रहनुपर्ने बताउनु भयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष विजय भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दशैँ राहत दिनुहुने चिनियाँ महिला चाङ होङ यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार विशिष्ट अतिथि रहनु भएको थियो ।

सहयोगदाता यूले यस भेगका असहाय, गरीब र निम्न वर्गका समुदायलाई सानो सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै सहयोग स्वीकार गरेकोमा सहयोग प्राप्त गर्ने सबैप्रति आफू आभारी भएको बताउनु भयो । उहाँले सहयोग पाउनेहरुको दशैँ सुखमय हुने विश्वास व्यक्त गर्नुभयो । यो अवसर जुटाइदिनु भएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद भन्दै  उहाँले भोलिका दिनहरूमा पनि आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यमबहादुर परियारले दानवीर चिनियाँ नागरिक चाङ होङ यूप्रति आभार ब्यक्त गर्दै सय घरमा बसोबास गर्ने विपन्न परिवारको दशैँ उल्लासमय हुने विश्वास व्यक्त गर्नुभयो । प्रभात माध्यमिक विद्यालय शुक्रनगरका प्रधानाध्यापक  होमनाथ भण्डारीले  महानगर प्रमुखको विशेष पहलमा यस क्षेत्रका असहायलाई दशैँ राहत प्रदान गर्ने चिनियाँ नागरिक यूलाई विशेष धन्यवाद दिनुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ अन्तर्गत विभिन्न ठाउँमा बसोबास गर्ने अतिविपन्न, गरीब तथा असहाय एक सय जनालाई प्रतिव्यक्ति दस हजार रुपैयाँ बराबरको खाद्यान्न, मरमसला, कम्बल, चिनी, साबुन र दशैँ खर्च चार हजार रुपैयाँ नगद वितरण गरिएको हो । राहत पाउनेमा दलित, आदिवासी जनजाति, खस, आर्य समुदायका विपन्न परिवार रहेका छन् ।

श्रीमती चाङ होङ यू दस वर्षदेखि बेलाबेलामा नेपाल आउने गर्नुहुन्छ । उहाँले २०७२ सालको विनाशकारी महाभूकम्प गएको बेला भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारको क्षेत्रमा विशेष सहयोग पु¥याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस