बेरुतमा इजरायली आक्रमण, शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, ०९ : २२
बेरुतमा इजरायली आक्रमण, शीर्ष हिजबुल्लाह कमाण्डर मारिए

एजेन्सी । लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ।

हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह नेताहरू मध्ये एक रहेको बताएको हो ।

यसअघि, लेबनानी अधिकारीहरूले इरानसमर्थित समूहको गढ रहेको सहरको दक्षिणी दहेह क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएका थिए।

आक्रमणबाट कम्तीमा एउटा आवासीय भवनमा भत्किएको छ भने अन्यमा ठुलो क्षति पुगेको थियो। उद्धार टोलीहरू आक्रमण भएको ठाउँमा पुगेर घाइतेहरूलाई उद्धार गर्ने र भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका बेला त्यहाँ अस्तव्यस्त दृश्यहरू देखिएका थिए। 

हिजबुल्लाह समूहका लागि यो अर्को अपमानजनक प्रहार थियो । केही दिनअघि मात्र समूहले प्रयोग गर्ने पेजरहरू र वाकी-टकीहरू विस्फोट भएका थिए । ती विस्फोटमा दर्जनौँ मारिए भने हजारौँ घाइते भएका छन् । यो पनि इजरायलले गरेको विश्वास गरिन्छ।

हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्र मारिएपछि शुक्रबारको आक्रमण बेरुतमा भएको पहिलो आक्रमण हो ।

प्रतिक्रिया दिनुहोस