यस्तो छ संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १२ : २८
यस्तो छ संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा-पुस्ताकै बलमा यो मुलुक रुपान्तरण गर्न सकिने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने पुस्तौंपुस्ता पछि पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं । सुशासन कायम त हामी गर्छौं गछौं । तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं ।’

उनले आफूहरुले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल नभएको बताए। उनले थपे, ‘पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज हो। यस्तो नमुना समाज- जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ। जहाँ सुखसहितको समृद्धि हुनेछ। हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था हो। त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो।’

 

प्रतिक्रिया दिनुहोस