काठमाडौं। श्रीनगर–भारत प्रशासित जम्मु–कस्मिरमा १० वर्षपछि भइरहेको विधानसभा निर्वाचनअन्तर्गत बुधवार पहिलो चरणको मतदान शुरू भएको छ । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु–कस्मिरको विशेष दर्जा हटाएर केन्द्र शासित दुई प्रदेश सिर्जना गरेको थियो ।
त्यसबेलादेखि सङ्घीय रूपमा नियुक्त गभर्नरले यस क्षेत्रलाई नियन्त्रण गर्दै आएका छन् । एक दशकमा भएको पहिलो विधान सभाको निर्वाचनलाई धेरैले व्यावहारिक नीतिभन्दा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा हेरेका छन् ।
श्रीनगरको मुख्य शहरनजिकै पुल्वामामा मतदान गर्ने पहिलो मतदाता ३१ वर्षीया नाभिद पाराले भने, ‘दश वर्षपछि हाम्रो आवाज सुनिने भएको छ । म मेरो आवाजको प्रतिनिधित्व गर्न चाहन्छु ।’पैतीस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ ।
प्रधानमन्त्री मोदीले जनतालाई ‘भारी सङ्ख्यामा मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन’ आग्रह गरेका छन् ।यो क्षेत्रमा विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् ।
करिब एक दशकपछि जम्मु–कस्मिरमा तीन चरणमा हुने निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । जम्मु–कस्मिरमा सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असोज २०८१, १३ : ५१
लेखकबाट थप