म्यान्मामा यागी चक्रवातको प्रभाव बढ्यो, भियतनाममा घट्यो

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १३ : २८
म्यान्मामा यागी चक्रवातको प्रभाव बढ्यो, भियतनाममा घट्यो

काठमाडौं। यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्मा क्षेत्रमा वृद्धि भएको छ ।उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ ।

यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ ।  जसमध्ये  भियतनाममा मात्र २३३ र म्यान्मामा ३६ जना रहेका छन् । यद्यपि, धेरै मानिसहरू बेपत्ता भएका कारण मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यान्माको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपतका कारण ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको  जनाएको छ । 

 

 

 

म्यान्माको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउदा  बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढी गएको देखाइएको छ ।

 

 

भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा  पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ ।  

यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यान्मा सीमामासमेत सबैभन्दा खराब बाढी आएको थियो ।प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले सेनाको नेतृत्वमा भइरहेको राहत कार्यको मुल्याङ्कन हेर्न शुक्रबार चियाङ राईको भ्रमण गर्ने तय भएको छ ।  

यसैबीच, लाओसको राजधानी भियन्तियानसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानहरूमा बाढीको चेतावनी दिइएको छ भने मेकोङ नदी आयोगले भियन्तियान वरपरका न्यून उचाई भएका क्षेत्रमा आगामी  दिनमा बाढी आउने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस