पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १३ : १६
पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

काठमाडौँ । कास्कीको पोखरा बजार क्षेत्रभित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । गएको भदौ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गा सरकारको नाममा ल्याउन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए ।

उनका अनुसार व्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनीरुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानबिनबाट प्राप्त  र  व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल  सरकारको स्वामित्वमा ल्याइएको हो ।

पोखरा वडा नं १ मा पी.एन. क्याम्पससँग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साबिक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा,  कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानबिनबाट प्राप्त भएको ६ रोपनी ११ आना  ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको जग्गा नेपाल सरकारको नाममा आएको उनले बताए ।