नेपालको शान्ति प्रक्रियाको नर्वेका सांसदले गरे प्रशंसा

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, १६ : २७
नेपालको शान्ति प्रक्रियाको नर्वेका सांसदले गरे प्रशंसा

काठमाडौँ । नर्वेका सांसदहरूले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगतिको प्रशंसा गरेका छन् । नर्वेका परराष्ट्र तथा रक्षा स्थायी समितिका अध्यक्ष तथा सदस्यहरूले बिहीबार नेपालको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँगको छलफलमा शान्ति प्रक्रियाको प्रशंसा गरेका हुन् ।

नर्वेका सांसदहरूले शान्ति स्थापना अभियानमा नेपालको योगदानको चर्चा गर्दै ऊर्जा क्षेत्रमा सहयोग प्रवर्द्धनमा जोड दिएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवले बताए ।

नेपालको संसदीय समितिले नर्वेबाट संसदीय अनुसन्धानको व्यवस्थित सुदृढीकरण, प्रत्यायोजित कानुनको सहभागितामूलक मूल्याङ्कन, संसदीय अभ्यासको आदानप्रदान र थप प्राविधिक सहयोगका अपेक्षासहितको धारणा राखेको थियो ।

दुई देशको परस्पर सम्बन्धलाई अझ बलियो बनाउन सहयोग तथा भ्रमणहरू भइरहनु पर्ने कुरामा समितिका सदस्यहरूले जोड दिएका थिए ।

नर्वे संसदीय समितिका अध्यक्ष इरिक्सन सोराइडको नेतृत्वमा आएको सांसदहरूको टोलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति यादव, सदस्यहरू माधवकुमार नेपाल, एनपी साउद, विमलेन्द्र निधिलगायतले स्वागत गरेका थिए ।  दुई देशको समान समितिको यो पहिलो बैठक हो ।

प्रतिक्रिया दिनुहोस