प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, ११ : ०२
प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ पाँच बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संवैधानिक परिषद्को अध्यक्ष भएकाले प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । प्रधानमन्त्री केही दिनमा अमेरिका भ्रमण जाने भएकाले बैठक बुधवारकै लागि बोलाइएको हो ।  संवैधानिक परिषद्मा  प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष,  प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ।

न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो। बैठकले प्रधान न्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने सम्भावना रहेको छ। उनी पहिलो नम्बरमा रहेका छन् ।

तर, आजको बैठकमा विपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपभामुख इन्दिरा राना उपस्थित हुने बारे अन्योल रहेको छ।  प्रचण्ड पार्टी बैठक र प्रशिक्षणको लागि मधेसमा छन् भने उपसभामुख रानालाई सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन्। 

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदै छन्। संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस