सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी

सफल खबर संवाददाता

शनिबार, २० पुस २०८१, १३ : ५७
सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खाताबाट साढे ३ करोड चोरी

काठमाडौं। दरबारमार्गस्थित सिटिजन्स बैंकको शाखा कार्यालयको ‘सिस्टम ह्याक’ गरेर तीन करोड रूपैयाँ भन्दा बढी रकम चोरी भएको पाइएको छ ।

एफवान सफ्ट नामको सफ्टवेयर कम्पनीले बैंकमा खाता खोलेको थियो । एफवानले नै सिटिजन्स बैंकको सफ्टवेयर बनाएको थियो । प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि अनुसन्धान गर्दा सफ्टवेयर ह्याक गरेर एफवान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रूपैयाँ चोरी भएको तथ्य फेला परेको हो ।

ब्यूरोले यो प्रकरणको अनुसन्धान गर्दा २४ जना संलग्न रहेको पाइएपछि उनीहरूविरुद्ध विद्युतीय कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । तर, प्रतिवादी बनाइएका २४ मध्ये हालसम्म नौ जना मात्रै पक्राउ परेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले बताए ।

 

 

 

उनका अनुसार पक्राउ पर्नेहरूमा ललितपुरका त्रिगुण रत्न बज्राचार्य, सिरहाका राहुल ठाकुर, सिरहाकै पुरुषोतम साह, सप्तरीका संजिवकुमार शर्मा, कृष्णरमण राउत, उदयपुरका दीपक थापामगर, कमल थापा मगर, सुनसरीका सागरकुमार साह र सन्देश राई छन् । बाँकी १५ जना भने फरार रहेको जानकारी एसपी अवस्थीले दिए ।

प्रहरीका अनुसार ह्याक गरिएको रकम उनीहरूको खातामा ट्रान्सफर विदेश पठाइएको पाइएको छ । ‘अनुसन्धान गर्दा ह्याकरको समूह विदेशमै बसेर बैंकको सिष्टम ह्याक गरेर नेपालीको खातामा रकम ट्रान्सफर गरेर रकम विदेशतर्फ लग्ने गरेको पाइयो’, ब्यूरोका एक अनुसन्धान अधिकृतले भने, ‘ह्याक गर्दा बेलायतको आईपी एड्रेस देखिएको छ।

तर, ह्याकरको समूहले अन्य ठाउँबाटै ह्याक गरेर आईपी एड्रेस बेलायतको राखेको आशंका प्रहरीको छ । एसपी अवस्थीका अनुसार शुरूमा २४ जनाको खातामा रकम ट्रान्सफर गरेपछि त्यहाँबाट झण्डै पाँच सय जनाको बैंक खातामा रकम ट्रान्सफर गरेको देखिन्छ ।

प्रहरीका अुनसार २०२४ अक्टोबर १ देखि देखि ४ सम्ममा पटकपटक ह्याक गरेर एफवान सफ्टको खाताको रकम निकालिएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरूले आफ्नो खाता प्रयोग गरेवापत केही रकम पाउँदै आएका थिए ।