सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री गगन थापा

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, २० : ५५
सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

महामन्त्री थापाले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनैपनि प्रकरणमा कानुन उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए । उनले शक्तिशाली, सत्तासीन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताए ।

उनले संसदमा नै उपसभापति गुरुङले सोबारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए । उनले नाम जोडिएपछि छानबिनको दायरामा आउने बताए । 

महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए । 

प्रतिक्रिया दिनुहोस