उपसभापति र महामन्त्रीसँग किन छलफल गर्दैछन देउवा ?

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, ०८ : ०४
उपसभापति र महामन्त्रीसँग किन छलफल गर्दैछन देउवा ?

काठमाडौँ ।   कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुसँग छलफल गर्न लागेका हुन् । 

सभापति देउवा निकट एक नेताले दिएको जानकारी अनुसार बिहान ११ बजे हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास हुनेछ । 

‘विश्वजीको एक्जी पोलीसी र निर्वाचन अघिको गठबन्धनको विषयमा छलफल हुनेछ । सभापतिज्यूले यसलाई परिमार्जन गराउन छलफल बोलाउनुभएको हो‚’ देउवा निकट नेताले भने । महामन्त्रीद्वयसँग छलफल सकेपश्चात् देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् । ‘पहिला महामन्त्रीसँग छलफल सकेर पदाधिकारी बस्ने भन्नुभएको थियो । सायद त्यस्तै हुन्छ होला‚’ ती नेताले भने ।

कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् । यस्तै अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन् ।

कांग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो । तर‚ विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस