कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाले परीक्षा स्थगित भएकोबारे संसदमा उठ्यो प्रश्न

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, १५ : १७
कृषि विश्वविद्यालयमा विद्यार्थी झगडाले परीक्षा स्थगित भएकोबारे संसदमा उठ्यो प्रश्न

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएकोबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको झगडाका कारण परीक्षा स्थगित भएको भन्दै विपक्षी दलका सांसदहरूले सरकार र सत्तारुढ दलमाथि प्रश्न गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्ना भातृ संगठनलाई सम्हाल्न आग्रह गरे । ‘नेपाली काँग्रेस र नेकपा एमाले दुईवटै दललाई आग्रह हो, ‘तपाईँहरूका भातृ संगठनलाई सम्हाल्नुस् । कि त भातृ संगठन नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस्’, सांसद शाहीले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको छात्राबासका विद्यार्थीहरुबीच यही भदौ १३ गते कुटाकुट भएको र यो विषयमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्वद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप चलेको छ । यही विषयलाई लिएर प्रहरीमा जाहेरी परेको छ । यसकारण भदौ १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ । भदौ २८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले यो वा त्यो रूपमा विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताइन् ।‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, ‘विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन् । विश्व विद्यालयमा राजनीतिक दल हाबी हुँदा यस्तो समस्या देखिएको उनको टिप्पणी छ ।

‘विद्याविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी । दुइटा विद्यार्थी संगठनको लडाइँमा पढ्छु मात्रै भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाउने ?’ रास्वपा सांसद सुमनाको प्रश्न छ । सांसद श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको दीक्षान्त समारोह स्थगित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गरिन् ।

‘यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह कहिले हुन्छ ?’ उनले भनिन् ।कर्णालीको दीक्षान्त समारोहमा प्रधानमन्त्रीले अन्तिम समयमा कार्यव्यस्तता भनेको सुनेको भन्दै सांसद श्रेष्ठले त्यस्तो नगर्न सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस