अभिभावकको प्रतिबद्धता लिँदै विद्यार्थीलाई रसिया पढ्न पठाउँदै सरकार

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १४ : २८
अभिभावकको प्रतिबद्धता लिँदै विद्यार्थीलाई रसिया पढ्न पठाउँदै सरकार

काठमाडौँ । अध्ययनका लागि रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र (एनओसी) रोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूको एनओसी रोकेको हो ।

रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले एनओसी बन्द गरेको थियो । तर, रसिया सरकारकै छात्रवृत्तिमा जान लागेका ४० जना विद्यार्थीलाई एनओसी बन्द गर्न नहुने बताएका हुन् । नेपालबाट विभिन्न १३ वटा क्षेत्रमा अध्ययनका लागि विद्यार्थीहरू रसिया पढ्न जाने लागेका हुन् । तर, युद्धका कारण देखाउँदै शिक्षा मन्त्रालयले एनओसी दिएको छैन ।

शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई विद्यार्थीहरू पढ्न जान लागेको क्षेत्रमा सुरक्षा जोखिम बुझ्न पठाएको थियो । परराष्ट्रले आफ्नो संयन्त्रमार्फत विद्यार्थीहरू पढ्न जान लागेको विश्वविद्यालय तथा कलेजहरूमा सुरक्षा जोखिम नरहेको रिपोर्ट दिएको छ ।

सोही आधारमा शिक्षा मन्त्रालय विद्यार्थीहरूलाई पठाउन तयार भएको छ । त्यसका लागि जान लागेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको प्रतिबद्धता माग गरेको छ । आज शिक्षा मन्त्रालयमा विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई बोलाएर छलफल गरेको छ ।

छलफलको क्रममा विद्यार्थीहरूले रसिया सरकारले दिएर अवसर खेर जाने अवस्थामा पुगेको भन्दै एनओसी दिन माग गरे । मेडिकल शिक्षा पढ्न रसिया जान लागेका चन्दनकुमार गोहितले रसियामा हाल त्यस्तो जोखिम नरहेको बताउँदै एनओसी दिन माग गरे ।

त्यस्तै इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्न मस्को जान लागेका आशुतोष पन्जियारले रसियन सरकारले नै छात्रवृत्ति प्रदान गरेर जान लागेको र त्यसमा कुनै खतरा नरहेको बताए । त्यसका लागि सरकारले जान दिनुपर्ने बताए ।

विद्यार्थीहरू एमबीबीएस, बीडीएस, इन्जिनियरिङ लगायतका विषय पढ्न रसिया जान लागेका हुन् । रसियामा एमबीबीएस अध्ययन गर्नका लागि छात्रवृत्ति पाएकी संस्कृति भण्डारीले आफू पढ्न जान लागेको विश्वविद्यालय विश्वमै राम्रो र्याङ्कमा रहेको बताइन् ।

नेपालमा तीन पटकसम्म एमबीबीएसको एकीकृत प्रवेश परीक्षा दिएपनि नाम ननिक्लेको उनको भनाइ छ । उनीहरूका अभिभावकहरूले समेत विद्यार्थीले पढ्ने अवसर पाएकाले जान रोक्न नहुने बताए । रसिया सरकारले त्यतिक्कै जोकोहीलाई आर्मीमा भर्ना नगर्ने बताउँदै एक अभिभावकले त्यसमा विद्यार्थीहरू समेत सचेत हुनुपर्ने बताए।

विद्यार्थीहरूको उमेर समेत जान लागेको बताउँदै उनीहरुले अनेकन कारण देखाउँदै रोक्न नहुने बताए । रसिया गएका विद्यार्थीहरूमा युद्धको जोखिम नरहेको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा‍ दीपक काफ्लेले सन् २०२२ देखि युक्रेन र रसियाबिच युद्ध चलिरहेकाले एनओसी जारी गर्न रोकिएको बताए ।

अहिले विद्यार्थीहरू पढ्न जान लागेको क्षेत्रमा त्यस्तो सुरक्षा जोखिम नदेखिएकाले अभिभावक र विद्यार्थी दुवैको प्रतिबद्धता लिएर निर्णय गरिने बताए । शिक्षामन्त्री विद्या भट्टराईले विद्यार्थीहरू १५ दिनदेखि मन्त्रालयमा आएपछि संयुक्त रूपमा छलफल गर्नका लागि विद्यार्थी र अभिभावकलाई बोलाइएको बताइन् ।

हरेक व्यक्तिको जीवनको सुरक्षाको जिम्मेवारी राज्यले लिने गरेको बताउँदै उनले भनिन्, ‘विद्यार्थीका आमा बुबा पहिलो अभिभावक हुन् । तर, देशबाहिर गइसकेपछि राज्य पहिलो अभिभावक हुन्छ । जीवनको सुरक्षाको जिम्मेवारी राज्यले लिन्छ ।’

विद्यार्थीहरूले पाएको अवसर र उनीहरूको भविश्यलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले अनुमति दिने बताए । तर, अनुमति दिनुअघि अभिभावक र विद्यार्थीसँग नै छलफल गरौँ भने बोलाइएको मन्त्री भट्टराईले बताइन् ।

व्यक्तिको जीवन सुरक्षासँग जोडिएकाले अभिभावकको प्रतिबद्धतापछि मात्रै विद्यार्थीलाई पठाउनेबारे निर्णय गरिने उनको भनाइ छ । रसिया पढ्न जाने विद्यार्थीहरू जुन उत्साहका साथ जान खोजिरहेका छन्, त्यही उत्साहका साथ पढेर पछि नेपाल फर्किनुपर्ने बताइन् ।

नेपालमा पढ्ने राम्रो वातावरण नभएर जाने भन्दा पनि छात्रवृत्तिको अवसरको पाएपछि जानु राम्रो हुने उनको भनाइ छ । रसियन सरकारले २०२४ का लागि ४० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । सबै प्रक्रिया पुरा गरेर छनौट भएका विद्यार्थीहरू एनओसी नपाउँदा रोकिएका हुन् । अब विद्यार्थी र अभिभावकहरूसँग छलफलपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने मन्त्री भट्टराईले बताइन् । 

प्रतिक्रिया दिनुहोस