राप्रपाको संस्थापन नै गुटबन्दीमा लागेको गुनासो

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, १२ : ३३
राप्रपाको संस्थापन नै गुटबन्दीमा लागेको गुनासो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र अनौठो परिदृश्य विकसित भएको छ । पार्टी संस्थापन नै गुटबन्दीमा लागेको भन्ने गुनासो नेताहरुले गर्न थालेका छन् । राप्रपाका संस्थागत कार्यक्रमहरुमा निमन्त्रणा गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनले नेता कार्यकर्ताबीच ‘तेरो मेरो’ गर्ने गरेको चर्चा र असन्तुष्टी ढढेँलो झैं सल्किन थालेको छ । गत शुक्रबार काठमाडौंमा सम्पन्न राप्रपा केन्द्रीय सल्लाहकार वैठकमा उपाध्यक्षहरु रवीन्द्र मिश्र, मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी देखिएनन् । महामन्त्रीहरु धवलसम्शेर राणा, कुन्ती शाही, प्रल्हाद शाह र शरदराज पाठक उपस्थित थिएनन् ।

प्रदेश प्रमुख र प्रवक्ताका हकमा पनि पार्टी संस्थापनले मन पर्ने, चाकडी गर्नेलाई मात्र बोलाएको एक पदाधिकारीले जानकारी दिए । यस्तै रवैयाको प्रतिफल, एक सहभागीका अनुसार, केन्द्रीय सल्लाहकारको प्रथम वैठक ‘नमज्जाका साथ’ सम्पन्न भयो । सल्लाहकार समितिमा अध्यक्ष लिङ्देनले तीन सय अधिक मनोनयन गरेका छन् तर पहिलो वैठकमै पैतालिसभन्दा बढी सदस्य सहभागी भएनन् । पार्टी स्रोतले बताए अनुसार, सो वैठक दुई दिन गर्ने अध्यक्षको योजना भएपनि अतः एक दिनमै छोट्याएर सम्पन्न गरियो । यस्तो गुटगत पूर्वाग्रह शंकरापुरमा शनिबार सम्पन्न यूवा संगठनको कार्यक्रममा दोहोरियो ।

राप्रपाका एक नेताले भने, ‘पार्टीका शीर्ष नेता त्यहाँ कोही बोलाइएन । पार्टी अध्यक्षको ‘वन म्यान शो’मा उहाँको गुटका ५५, ६० वर्ष काटेका बुढा नेताले भाषण गरे तर यूवा संगठनका केन्द्रीय सचिव निराजन बमलाई बोल्न दिइएन । आफ्नो आङको भैंसी नदेखे झैं गरेर अध्यक्षले आफूलाई गुट स्वीकार नभएको खोक्रो आदर्श छाँटे, अब कति हाँस्नु ।’ यूवा संगठनका केन्द्रीय सचिव निराजन बमले १६ जना वक्ताको भीड यूवा आवाज हराएको भनेर सामाजिक संजाल धारणा राखे । पार्टीमा गुट उपगुट हुनु हुँदैन भन्दाभन्दै शंकरापुरको यूवा अधिवेशनमा आसन ग्रहणमै गुटबन्दी भएको बमको चिन्ता थियो । बमले फेसबुकमा यस्तो प्रतिक्रिया के राखेका थिए, लिङ्देन पक्षधर साइबर सेनाले झापाबाट आक्रमण सुरु गरे । ‘केन्द्रीय कार्यालयमा घुम्ने, भूगोलमा नखट्नेलाई के अवसर’ भनेर फायर खोले । जबकी बास्तविकतामा केन्द्रीय कार्यालय र नेताको घर आँगनमा डेरा जमाउनेहरु लिङ्देनकै आसेपासे छन् ।

एक केन्द्रीय सदस्यले भने, ‘त्यति मात्र हैन केन्द्रीय समितिले खटाए अनुसार, अध्यक्ष लिङ्देनले नै धरान नगरपालिकाको जिम्मेवार सम्पन्न गरेका छ्रैनन् । लिङ्देनले नै धरानमा दुईवटा अनौपचारिक वैठक मात्र गरेको केन्द्रीय समितिमा रिपोर्ट गरेका छन् । देशभित्रको संगठनभन्दा लिङ्देन आजकाल विदेशमा संगठन गर्न र पैसा उठाउन व्यस्त छन् । अष्ट्रेलिया, ब्याङ्ककमा भर्खरै संगठन गरेर फर्के अब बेलायत जाँदैछन् । यस्ता भ्रमण दलमा सोही गुटको गन्ध दुर्गन्ध व्यापक भएको राप्रपा स्रोतको भनाइ छ ।