जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १६ : ११
जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

टोकियो । जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ ।

शानशान ताइफुनलाई जापानमा एक दशकयताकै सबैभन्दा डरलाग्दो ताइफुन मानिएको छ । ताइफुन केही कमजोर बनेको र सोमबारसम्ममा उष्णकटिबंधीय चक्रवातमा परिणत हुने प्रक्षेपण गरिएको छ ।

तर शुक्रबार बिहानतिर प्रतिघण्टा १२६ किमीका दरले आँधी चलिरहेको थियो । क्युशुमा मंगलबार अबेर रात पहिरो जाँदा एके परिवारको तीन जनाको मृत्यु भएको थियो ।

थप चार जनाको मृत्यु भएको सरकारका प्रवक्ता योशिमासा हायाशीले पुष्टि गरेका छन् । एक जनाको मृत्यु ताइफुनसँग सम्बन्धित हो हाइन् भनेर अध्ययन भइरहेको बताइएको छ । अरू दुई जना पनि मरेको हो कि भन्ने आशंका गरिएको तर यसको पुष्टि भइनसकेको उनले बताए ।

अन्य दुई जना भने बेपत्ता भएको भनिएको छ । ताइफुनका कारण अरू आठ जना गम्भीर घाइते भएका छन् । ७० जनालाई भने सामान्य चोटपटक लागेको हायासीले भनेका छन् ।