विद्युत बक्यौताबारे प्रचण्डले लेखा समितिमा स्पष्टीकरण दिनुपर्छ : सांसद बास्कोटा

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १६ : ०३
विद्युत बक्यौताबारे प्रचण्डले लेखा समितिमा स्पष्टीकरण दिनुपर्छ :  सांसद बास्कोटा

काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्युत बक्यौताबारे लेखा समितिमा स्पष्टिकरण दिनुपर्ने बताएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले प्रचण्डको नेतृत्वमा गत वैशाख २७ गते बसेको मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइनमा उद्योगीलाई १६ अर्ब छुट दिने निर्णय गरेको आरोप लगाएका हुन् ।

'पैसा नउठाएको प्रचण्डले नै हो । किन दुईवटा पत्र लेखेको ? संसदीय समितिमा आएर स्पष्टिकरण दिनुपर्छ,' बास्कोटाले भने ।उनले पूर्व प्रधानमन्त्री प्रचण्डसँगै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध पनि निशाना साँधे ।

'विद्युत प्राधिकरणले पैसा उठाउन खोजेको जस्तो देखिन्छ, तर विद्युत प्रयोग गरेको लोड प्रोफाइल डाटा दिन्न,' उनले भने, 'त्यो डाटा दिनुपर्यो अनि २२ अर्ब नै उठाउनुपर्यो।'बोल्ने क्रममा उनले कमिसनको लोभमा वर्षौंदेखि अर्बौंको ट्रान्सफर्मर खरिद गरेर राखेको र ट्रान्सफर्मरले खोला छेकेको भन्दै घिसिङमाथि खरिद ऐन पालना नगरेको आरोप लगाए ।

 

 

 

 

त्यसपछि प्रचण्डको बचाउ गर्दै नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले नै ६१ उद्योगीको बचाउ गरेको आरोप लगाए ।

'प्राधिकरणले २३९ औद्योगिक र व्यापारिक ग्राहकलाई दैनिक २० घण्टासम्म प्रिमियम सुविधा दिएको थियो, १७८ ले तिरिसकेका छन् । बाँकी ६१ ले बुझाउन बाँकी छ,' पौडेलले भने, 'ती ६१ उद्योगीलाई पैसा नतिर्न भनेको अहिलेकै नेतृत्वले हो ।'

उनले इफ बट नभनीकन पैसा उठाउनुपर्ने बताए । 'पूर्व प्रधानमन्त्री प्रचण्डले उठाउनु पर्दैन भनेको यदि हो भने हामी बहस गर्न तयार छौं,' पौडेलको भनाइ थियो ।