जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना

सफल खबर संवाददाता

आइतबार, ०९ मंसिर २०८१, १५ : ३२
जिल्ला प्रशासन पर्साको प्रांगणभित्रका भाडाका सटर खाली गर्न ३५ दिने सूचना

पर्सा। जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले कार्यालय प्रांणमा रहेका भाडाका सटर खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चापका कारण कोठाको अभाव भइरहेको जनाउँदै, नागरिकलाई सहज र सरलीकृत सेवा प्रदान गर्न सटर खाली गराउन लागिएको जानकारी दिए।

कार्कीका अनुसार कार्यालय प्रांगणभित्रै राहदानी, राष्ट्रिय परिचयपत्रलगायत निःशुल्क फर्म भर्ने स्थानको आवश्यकता रहेको हुँदा सटर हटाउने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रले कार्यालय प्रवेशद्वारमा अर्जेन्ट साइबर, न्यू क्वालिटी प्रिन्टर्स एन्ड नाइनल स्टाम्प र फोटो फेस डिजिटल स्टुडियोलाई सटर भाडामा दिएको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यालय परिसरमा रहेका बिचौलियाको अन्त्य गर्दै निःशुल्क सेवा उपलब्ध गराउने योजनासहित सटर खाली गर्न निर्देशन दिएको बताए। कार्यालयले नागरिकका लागि सहज वातावरणमा सेवा प्रदान गर्ने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस