प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण-पूर्वाधार र खेलाडीको सुविधा बढाउने प्रतिवद्धता

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १२ : २९
प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण-पूर्वाधार र खेलाडीको सुविधा बढाउने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान आयोजित कार्यक्रममा क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई २ लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो।

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए ।

आज पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधा वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाए। हरेक प्रदेश र जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडी अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको उनले सुनाए ।

 

प्रधानमन्त्रीले भने, ‘सिक्नका लागि अनुकूलता, वातावरण चाहिन्छ । कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टीमले पनि बताइसकेको छ । हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ । हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ ।

हामीसँग कभर्ड हल छैन । अहिले हामी कभर्ड हलको कुरा गर्दैछौँ । प्रदेश प्रदेशमा भयो भने सकेसम्म जिल्ला, जिल्लामा पुग्यो भने हामी त्यहीँ सिक्न सक्छौँ । हामी जित्न सक्छौँ । सर्वोत्कृष्ट टिम बन्नसक्छौँ । दक्षिण एशिया, एशिया र सिंगै विश्वकै हुन सकिन्छ । नसक्ने भन्ने केही छैन । सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ । यसमा हामी सबैको ध्यान गएको छ ।’

दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए ।उनले भने, ‘मैले भित्रै गएर त हेरेको छैन तर दशरथ रंगशालाको खेल मैदान धेरै बिग्रिएको भन्ने छ । म ०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु ।

जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान मैले देखेको थिइनँ । अहिले हिलै छ । अस्ति एउटा खेल देख्दा देशकै बेइज्जत भए जस्तो लाग्यो । त्यसकारण यस्तो देशकै बेइज्जत हुने खालको स्थिति हुनु हुँदैन । अन्यत्र त्यस्तो प्यारापिट नै छैन जहाँ हामी खेल खेलाएर दर्शकलाई देखाउन सकौँ ।

दर्शकलाई देखाउने गरीको खेल खेल्ने हो भने अन्त प्यारापिट छैन । हामीलाई २०/२५ हजारको क्षमताको त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग नहोस् । यो स्तरीय खेलहरुका लागि हो, खासगरी त्यो फुटबल जस्ता खेलहरुका लागि हो । अरु खेल खेल्नु छ भने तदनुसारका खेल मैदानहरू तयार गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने भन्दै आजबाटै मैदान उत्कृष्ट बनाउन काम थाल्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस