काठमाडौँ । बुधबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको परामर्श बैठकका कारण सचिवालय बैठक स्थगित भएको सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
यसअघि बिहीबार बसेको बैठकमा सदस्य सचिव तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र माओवादी केन्द्रका महासचिव देव गुरुङले धारणा राखेपछि बैठक स्थगित भएको थियो । गुरुङ प्रदेशमा जारी रहेको माओवादीको परामर्श बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि सचिवालयको बैठक प्रभावित भएको श्रेष्ठले बताए । उनका अनुसार अर्को बैठक भदौ १८ गते बस्नेछ ।
‘देव गुरुङजी पार्टीको परामर्श बैठकमा व्यस्त हुनुहुन्छ । भदौ १७ गते मात्र काठमाडौँ फर्किने भन्नुभएको छ । १८ र १९ गते फुर्सद भएकाले त्यतिबेला दस्ताबेजलाई टुंगो लगाउने भन्नुभएको छ’, श्रेष्ठले भने ।
गुरुङ सुदूरपश्चिम प्रदेशमा हुने बैठकमा भाग लिन बुधबार धनगढी पुगेका छन् । उनी भदौ १४ र १५ गते कर्णाली, भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा हुने परामर्श बैठक सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
यसअघि साउनको पहिलो साता बसेको मोर्चाको बैठकले १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म दस्ताबेजले अन्तिम रूप पाएको छैन ।मोर्चामा माओवादीसहित एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्र–गङ्गानारायण समूह) रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चामा एमालेलाई सहभागी गराउने तयारी, छलफलको जिम्मा प्रचण्ड र नेपाललाई