काठमाडौँ । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट रोक्न भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद सुब्बाले जग्गा कित्ताकाट नरोक्ने हो भने र स्थानीय तहले जमिनको ९ १० वटा तह नछुटाउने हो भने ५–१० वर्षमा खाली जग्गा पाउन कठिन हुने बताइन् ।
उनले मेचीदेखि महाकालीसम्म प्रत्येक १०–१० वर्षमा गर्नुपर्ने जग्गाको नापी अहिलेसम्म हुन नसकेको बताउँदै यदि नापी नहुने हो भने अहिलेसम्म जोगाएर राखेका सार्वजनिक जग्गा बचाउन कठिन हुने उल्लेख गरिन् ।
यस्तै सांसद सुब्बाले ७७ वटै जिल्लामा सुकुम्वासी समस्या समाधान आयोग बनाउन हतार नगर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरिन् ।
उनले भनिन, ‘जहाँ बढी सुकुम्वासी समस्या छ ती ठाउँमा मात्रै आयोग बनाऊँ । आवश्यक नपरेको जिल्लामा आयोग बनाउन आवश्यक छैन । सहरी क्षेत्रमा उपत्यकामा आयोग बनाएर काम छैन ।’
यस्तै उनले लुम्बिनी र कोशी प्रदेशमा मोही बाँडफाँटको समस्या रहेको बताइन् । साथै रसुवा लगायतका क्षेत्रमा बिर्ता उन्मुलन भएपनि त्यहाँका जनताले समस्या भोगिरहेको उनले उल्लेख गरिन् ।
यस्तै उनले गुठी विधेयक सरकारले कहिले ल्याउँछ भन्दै प्रश्न गरिन् । स्वर्गद्वारीको गुठीको विषयमा के गर्ने यस बारेमा सरकारले आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १६ : ०८
लेखकबाट थप