ओँठ र तालु सुक्ने भयो ठग्न पल्केका म्यानपावर व्यवसायीको

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०७५, १६ : ५२
ओँठ र तालु सुक्ने भयो ठग्न पल्केका म्यानपावर व्यवसायीको

काठमाडौं । रोजगारदाता कम्पनीले नै सबै खर्च व्यहोरेर नेपाली कामदार लैजान मलेसिया सरकार सहमत भएपछि सोझा नेपालीलाई ठग्न नपाइने भएपछि म्यानपावर व्यवसायीहरुको ओँठ र तालु सुक्न थालेको छ । सरकारले पछिल्लो पटक हवाई टिकट, भिसा शुल्क र अन्य शुल्क समेत रोजगारादाता कम्पनीले नै तिर्ने व्यवस्थामा मलेसिया सरकारसँग सहमति गरेपछि म्यानपावर व्यवसायीको ओठ लातु नराम्ररी सकुको हो ।
नेपालमा रहेका म्यानपावर कम्पनीले कामदार पठाउन संयोजन गरेको खण्डमा भने एक महिनाको पचास प्रतिशत तलब बराबरको मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । कुनै कामदारले पाउने पहिलो महिनाको तलबको पचास प्रतिशत भन्दा बढी सेवा शुल्क लिइए त्यस्ता म्यानपावर माथि कारवाही गर्ने प्रवाधान समेत सम्झौतामा राखिएको छ ।
वैदेशिक रोजगारको नाममा केही सिमित व्यक्ति मात्रै मोटाएको र हजारौँ कामदार पीडित बन्नु परेपछि सरकारले गत जेठ ३ गतेदेखि मलेसियामा कामदार पठाउन बन्द गरेको थियो । मलेसियामा दुई देशका उच्च अधिकारीबीचको छलफलमा सबै खर्च रोजगारदाता कम्पनीले नै तिर्ने सहमति भएको छ । भिसा प्रक्रियादेखि आवतजावत गर्दा लाग्ने हवाई टिकको शुल्क समेत रोजगारदाताले तिर्ने भएपछि नेपाली कामदारलाई सजिलो हुने आशा गरिएको छ ।
मलेसिया जाने नेपाली कामदार पछिल्ला दिनमा धेरै ठगीमा पर्दै आएका थिए । म्यानपावर व्यवसायीले मनलाग्दी रुपमा शुल्क उठाउने गरेको, भनेको काम नपाएको तथा स्वास्थ्य उपचार, बीमा समेत नपाएको जस्ता गुनासो आउने गरेका थिए । नेपाली महेनती छन्, इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्छन् भन्ने मान्यता स्थापित भएका कारण पनि रोजगारदाता कम्पनी आफैले सबै शुल्क तिर्न तयार भएका हुन् । नेपाल र मलेसियाबीच निकट भविष्यमा नै श्रम सम्झौता हुने बताइएको छ । सम्झौतापछि मलेसियामा नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण समेत निर्माण हुनेछ । श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एस कुलसेगरनबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।
नेपालमा विवादित भएको मलेसियन कम्पनी भिएलएनलाई नै भिसाको जिम्मा दिनुपर्ने अडानमा मलेसिया सरकार रहेको वार्तामा सहभागीले जानकारी दिएका छन् । सबै शुल्क रोजगारदाताले नै तिर्ने भएकाले भिसा प्रक्रिया मिलाउन कालागि मात्रे उसलाई राख्न लागिएको भन्दै मलेसियाका सरकारी अधिकारीले कामदार ठगिन नदिन दुवै पक्षले पारदर्शी संयन्त्र बनाएर कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । नेपाली अधिकारीले नेपाली कामदारको २४ सै घण्टा बीमाको व्यवस्था गर्न मलेसियालाई आग्रह गरेका छन् । ‘कार्य समयको मात्रै बीमा गर्न उनीहरु तयार देखिएका छन्’ वार्तामा सहभागी एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘कार्य समयको बीमा गर्न उनीहरु सहमत छन्, तर २४ सै घण्टाको बीमाका लागि भने उनीहरु सहमत हुन सकेका छैनन्, हामी निरन्तर वार्तामा छौँ, हेरौँ केही सहमति हुन पनि सक्छ, तत्काल यो विषय नटुंगिन पनि सक्छ ।’
सरकारले सहज प्रक्रियाका आधारमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएपछि म्यानपावर व्यवसायी भने आक्रोशित भएका छन् । अनावश्यक शुल्क उठाएर ठगी गर्न नपाइने भएपछि उनीहरु आक्रोशित भएको हुन सक्ने सरकारको बुझाइ छ । नेपाली कामदारको खर्च बढी पर्ने, राम्रो रोजगारी पाउन सम्भव नहुने भन्दै वैदेशिक रोजगार व्यवसायीले सस्तोमा कामदार पठाउने विषय राम्रो भएपनि नेपाली कामदारमाथिको लगानी बढी पर्ने भएकोले त्यसबाट राम्रो काम पाउँदैनन् कि भन्ने चिन्ता रहेको बताएका छन् । सरकारी अधिकारीले नेपाली कामदारले मलेसियामा विश्वास कमाएका कारण व्यवसायीले भनेजस्तो अवस्था नरहने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस