तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै भारत

सफल खबर संवाददाता

शनिबार, ०१ भदौ २०८१, १३ : ५१
तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै भारत

नयाँ दिल्ली। भारतले शनिवार ’भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ (भीओजीएसएस)को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ’वसुधैव कुटुम्बकम’ को दर्शनमा आधारित कार्यक्रम हो। 

यो शिखर सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एकसाथ, सबैको विकास, सबैका विश्वास र सबैका प्रयास’ दृष्टिकोणको विस्तारित रुप रहेको  विदेश मन्त्रालयले यस हप्ताको शुरूमा एक विज्ञप्तिमार्फत जनाएको थियो ।

यस सम्मेलनले विश्वव्यापी मुद्दामा आफ्नो विचार र प्राथमिकता एकअर्कासँग साटासाट गर्न ग्लोबल साउथका सबै राष्ट्रलाई एकसाथ ल्याउने परिकल्पना गरेको छ ।‘दिगो भविष्यका लागि एक सशक्त ग्लोबल साउथ’को नारासहित आयोजना हुन लागेको तेस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनमा विश्वलाई असर गर्ने जटिल चुनौतीहरू जस्तै द्वन्द्व, खाद्य र ऊर्जा सुरक्षा सङ्कट, जलवायु परिवर्तनको विषयमा छलफल हुनेछ । 

विदेश मन्त्रालयले हिजो ग्लोबल साउथका सबै देशलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको बताएको छ। शिखर सम्मेलनमा विशेष गरी ग्लोबल साउथको क्षेत्रीय विकासमा चुनौती, प्राथमिकता र समाधानका लागि छलफल जारी राख्नेछन्। 

भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनको तेस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख–सरकार तहमा हुनेछ र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नुहुनेछ ।

भारतले सन् २०२३ को जनवरी १२–१३  मा पहिलो र सन् २०२३ नोभेम्बर १७ मा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन आयोजना गरेको थियो ।यस सम्मेलनका अघिल्ला दुवै संस्करणहरूमा ग्लोबल साउथका १००  भन्दा बढी देशहरूको सहभागिता रहेको थियो । 

यी दुई शिखर सम्मेलनमा विकासोन्मुख देशका नेताहरूबाट प्राप्त सुझाव र प्रतिक्रिया गत वर्ष भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलनको एजेन्डा र छलफलमा प्रतिबिम्बित भएको थियो ।