दुई प्रहरी महानिरीक्षकसँग गृहमन्त्रालयले गर्‍यो कार्यसम्पादन सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, १६ : ३३
दुई प्रहरी महानिरीक्षकसँग गृहमन्त्रालयले गर्‍यो कार्यसम्पादन सम्झौता

काठमाडौं। गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग कार्यसम्पादन सम्झौता गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृहसचिव एकनारायण अर्यालले नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सम्झौतामा हस्ताक्षर भएपछि गृहसचिव अर्यालले सम्झौतामा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासनलगायत गृह मन्त्रालयका सम्पूर्ण जिम्मेवारीका विषय उल्लेख रहेको बताए ।

उनले सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्चस्तरको समन्वय हुने विश्वास दिलाएका दिए ।

सम्झौतामा उल्लेख भएका विषय र सम्पादन गर्नुपर्ने कार्य उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ–आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवं लगन उच्च हुने विश्वास अर्लालले गरे ।

प्रशासनिक कार्यसञ्चालनलाई सहज बनाउन व्यवस्था भएको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव अर्याल र दुई महानिरीक्षकबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस