जापानमा ‘शक्तिशाली’ आँधी : सयौँ उडान रद्द, चार हजारभन्दा बढी घर विद्युत्विहीन

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, १५ : १८
जापानमा ‘शक्तिशाली’ आँधी : सयौँ उडान रद्द, चार हजारभन्दा बढी घर विद्युत्विहीन

काठमाडौं। जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् ।

जापानको राजधानी टोकियोबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ । 

आँधी उत्तरबाट पूर्वतर्फ होन्शु तटसम्म पुग्ने र करिब चार करोड मानिसको बसोबास रहेको टोकियो क्षेत्रलाई घुमेर शनिबारदेखि प्रशान्त महासागरमा फर्किने अनुमान गरिएको छ ।

जेएमएले आँधीको समयलाई ‘धेरै कडा’ मौसमको रूपमा मूल्याङ्कन गरेको छ । यसलाई ‘भयानक आँधी’ को उच्चतम श्रेणीभन्दा एक डिग्री तल अर्थात् अधिकतम हावाको गति १९५ किलोमिटर प्रति घण्टाको दर रहेको उल्लेख गरेको छ । 

जेएनएले सामाजिक सञ्जालमार्फत ‘आँधीबेहरी, उच्च छाल, पहिरो र बाढीका लागि उच्च सतर्कता अपनाउन’ चेतावनी दिएको छ ।अमेरिकी सेनाको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले राजधानीको पूर्वमा रहेको तटीय चिबा क्षेत्रमा अपराह्न ३ बजेसम्म अत्यधिक हावाहुरी चल्ने अनुमान गरेको छ ।

आँधीका कारण टोकियोको छिमेकी प्रान्त चिबाका चार हजारभन्दा बढी घरधुरीमा शुक्रबार बिहानसम्म विद्युत् आपूर्ति बन्द भएको युटिलिटी अपरेटरले जनाएको छ ।जापान एयरलाइन्सले हालसम्म ३६१ उडान रद्द गरेको र यसका कारण ५७ हजार ग्राहक मारमा परेका जनाएको छ ।